सूचनाको शक्ति - The Power Of Information

        

२०१८ भित्रै नेपालमा गुड्ला त रेल ?


काठमाडौं । नेपालमा रेल सञ्चालनका लागि बेला बेलमा रेलको सम्भाब्यता अध्ययनहरु भईरहेको विषय नौलो होइन । हुन त नेपालमा रेल सञ्चालनकै लागि रेल विभागको पनि स्थापना नभएको होइन । विभागले पूर्वपश्चिम, काठमाडौं, पोखरा, तराई लगायतका भारतीय बोर्डरबाट महत्वपूर्ण औद्यौगिक ब्यापारिक शहरहरु तथा चीनदेखि काठमाडौंसम्म रेल्वे सेवा जोडने परिकल्पनासहित काम गरेको छ ।
नेपालमा रेल चलाउन बिभिन्न समयमा भएको सम्भाव्यता अध्ययन भए पनि नेपालमा रेल चलाउन सकिन्छ कि सकिँदैन भन्ने दुविधा थियो । तर, अब यो दुविधा कम हुँदै गएको नेपाल रेल विभागले जानकारी दिएको छ । हाल सिविल इन्जिनिरिङको काम सकिएकाले विभागले अब २०१८ भित्रै रेल गुडाउने तयारी गरेको रेल विभागका प्रवक्ता प्रकाश उपध्यायले बताए ।
विस १९३७ मा तत्कालीन ईष्ट इन्डिया कम्पनीको पहलमा भएको जनकपुर जयनगर ३५ किलोमिटर रेल्वे अब २०१८ भित्रै सञ्चालनमा ल्याउन लागिएको बिभागका प्रवक्ता उपध्यायले जानकारी दिए । केरुङ–काठमाडौं, पोखरा–लुम्बिनी रेलमार्गको सम्भाब्यता अध्ययन सकेर चिनियाँ टोली फर्केको धेरै समय भएको छैन । चीनबाट आउने रेल आफै गुडेर आउने होइन र रेल आफैले बाटो निर्माण गरेर आउने पनि होइन ।
त्यसको लागि सम्भाव्यताको अध्ययन हुन जरुरी छ । चीनबाट रेल ल्याउन त्यति सहज नभएको विभागका प्रवक्ता उपध्यायको भनाई छ । उपध्यायका अनुसार चीनबाट रेल ल्याउन करिब ९० प्रतिशतभन्दा बढी ट्रनिङ र टनेल पर्छ । यसको लागि विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) कहिले हुने हो थाहा छैन । बथानहा जोगवानी वुधनगर हुँदै बिराटनगर आउने १८ दशमलव ५ किमी रेलको अवस्था भने मुआब्जमा वितरणमा समस्या उत्पन्न भएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
हाल सो मुद्दा विचाराधिन अवस्थामा रहेको छ । त्यस्तै पूर्वपश्चिम रेलमार्गको काम भने भइरहेको उनले बताए । यसको लागि लामो समय लाग्ने छ बिभिन्न ठुलाठुला नदी तथा पुलका कारण काम ढिला हुने उनले जानकारी दिए । कर्णाली, भेरी, राप्ती लगायतका नदी तथा पुलका कारण पूर्वपश्चिम रेलमार्गको काम १० वर्ष लाग्न सक्ने उपध्यायले बताए । रेल विभागको स्थापना २०६८ सालमा भएदेखि उनले काम शुरु गरेको थियो ।
तर, आर्थिक तथा भौतिक अवस्थाका कारण नेपालले आफ्नै रेल गुडाउन सकेको छैन । रेल गुडाउन दक्ष जनशक्ति नहुनु, रेलको लिग नहुनु साथै महत्वपूर्ण मानिने रेलको ईन्जिन, सामान ढुवानी गर्ने डिब्बा तथा मान्छे बस्ने डिब्बा नहुनु मुख्य समस्या रहेको छ । अब यो समस्या लामो समयसम्म नरहने प्रवक्ता उपध्यायको भनाइ छ । उनले भने, ‘यसका लागि भारतसँग कुरा भइरहेको हुनाले तत्कालै हुन पनि सक्छ केही समय लाग्न पनि सक्छ ।’ हुन त नेपालमा रेल गुडाउन ढुवानी गर्ने डिब्बा, मान्छे बस्ने डिब्बा, रेलको ईन्जिन मात्र भएर पुग्दैन यसको लागि स्टेशन म्यानेजर, काउन्टर, मर्मत गर्न सक्ने दक्ष जनशक्ति चाहियो तर यो अहिले नेपालमा सम्भव छैन ।
यसका लागि पनि आउटसोर्सिङ गर्नु पर्ने वाध्यता रहेको उनी बताउँन् । करिब २ वर्षको लागि आउटसोर्सिङ गर्ने र २ वर्षभित्र नेपाललाई चाहिने जनशक्ति, रेल चलाउने दक्ष जनशक्ति उत्पादन गर्ने रेल बिभागको उद्देश्य रहेको छ । तर नेपालमा रेल चलाउन कति रकम खर्चिनु पर्ने हो त्यो भने भन्न नसकिने उनले बताएका छन् ।

काठमाडौंमा मोनो रेल
मोनो रेल अझै पनि आम मानिसले बुझने भनेको रेल नै हो तर मोनो रेल भनेको जमिन मुनि गुडने रेल हो । जुन शहरी यातायातको रुपमा चल्ने गर्दछ । यसको लागि सम्भाब्यता अध्ययन भइरहेको छ । मोनो रेल काठमाडौंको थानकोटदेखि जगाती, रिङरोड, बौद्धदेखि स्वयम्भु लगायत काठमाडौंको ५ स्थानमा चल्ने छ । सो कार्यका लागि कुनै काम अघि बढ्न सकेको छैन । सो सम्बन्धमा लगानी बोडले लगानी जुटाएपछि मात्र थप काम अगाडी बढ्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०४:४३