सूचनाको शक्ति - The Power Of Information

        

चौँरीको सङ्ख्या दुई वर्षमै दोब्बर

हुम्ला । चौँरीपालनमा बढी सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका–६, लिमीमा दुई वर्षमै चौँरीको सङ्ख्या दोब्बर पुगेको छ । चौँरीपालन व्यवसायमा किसानलाई आकर्षित गर्न लिमीमा चौँरी स्रोत केन्द्र स्थापना भएपछि चौँरीको सङ्ख्या दोब्बर भएको हो ।

चौँरीपालन विस्तारका लागि २०७६ सालमा स्रोत केन्द्रको स्थापना गरिएको थियो । चार जना चौँरीदारले स्रोत केन्द्र हेर्दै आएका छन् । केन्द्रबाट छुर्पी, घिउ लगायतका दुग्धजन्य वस्तु बिक्रीबाट पनि स्रोत केन्द्रको आम्दानी सुरु भइसकेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले दुई वर्षअघि स्थापना भएको लिमीको चौँरी स्रोत केन्द्रमा सङ्ख्या दोब्बर पुगेको बताए । उनले स्थापना कालमा ७० वटा चौँरी खरिद गरेर स्रोत केन्द्र सञ्चालनमा आएकामा अहिले त्यो सङ्ख्या बढेर १४२ पुगेको जानकारी दिए ।

अझै धेरै चौँरी गाई ब्याउने अवस्थामा भएकाले यो सङ्ख्या आगामी जेठ असारसम्म अझै बढ्ने प्रमुख बुढथापाले बताए । सम्भावना भएकै कारण कार्यालयले लिमीमा स्रोत केन्द्र स्थापना गरेर व्यावसायिक चौँरीपालन सुरु गरेको उनले बताए । यसका लागि दुई वर्ष लगातार एक/एक करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ ।

यस वर्ष पनि चौँरीपालनकै लागि ५० लाख रुपियाँ बजेटको व्यवस्था कार्यालयले गरेको र त्यसबाट पनि चौँरीको सङ्ख्या पनि थपिने भएको छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङ लिमीकै तुम्लिङमा स्थापना भएको स्रोत केन्द्रमा चौँरीको सङ्ख्या छोटो समयमा उल्लेख्य वृद्धि भएको बताए ।

उनले खासै आम्दानी नहुने देखिएपछि युवा पुस्ता चौँरीपालनबाट व्यवसायबाट पलायन हुन थालेकामा फेरि यसतर्फ आकर्षित हुन थालेको जानकारी दिए । विगतमा एउटै घरमा ३० देखि ४० वटा चौरी हुने गरेकामा पछिल्लो समय त्यो सङ्ख्या घटेर तीन/चार वटामा झरेको छ । कतिपयले त चौँरी पाल्नै छोडेको जानकारी दिँदै उनले पुनः स्थानीयवासीमा आकर्षण बढ्न थालेको बताए ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १०:४७