सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बाघ आतंक

जंगलमै प्राविधिक टोलीको बास, अझै नियन्त्रणमा आएन ‘नरभक्षी बाघ’

‘नरभक्षी बाघ’ नियन्त्रण गर्न जंगलमै छाडियो भैंसीका पाडा

बाँके । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले हिजोदेखि जंगलमै बास बसिरहेको छ ।

मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोलीले मंगलबार सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर जङ्गलमै छाडिएको भए पनि गएको रातमा सो पाडो बाघले नखाएपछि बुधबार फेरि दुई वटा ठाउँमा दुईवटा पाडो राखेको थियो ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काका अनुसार प्राविधिक टोली राती जङ्गलमै बसे पनि हालसम्म बाघले पाडो नखाएपछि नियन्त्रणमा लिने प्रयास सफल नभएको हो । प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको पनि उनले बताए ।

बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएर बाघ नियन्त्रणका लागि कार्य गरिरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । गएराति पनि बाघले पाडो नखाएपछि प्राविधिक टोली थप अध्ययनमा जुटिरहेको पनि सूचना अधिकारी खड्काले जानकारी दिए ।

पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिने योजना अनुसार प्राविधिक टोलीले बाघ भएको सम्भावित स्थान पत्ता लगाउन थप अध्ययन गरिरहेको सूचना अधिकारी खड्काले बताए । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर ब्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको उनको भनाइ छ । बाघले दिनदिनै स्थानीय गाउँबासीलाई मार्न थालेपछि राप्तीपारीका स्थानीय बासिन्दा त्रसित छन् । बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो ।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी १ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो । नरभक्षी बाघले विगत डेढ हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको स्थानीयहरुको भनाइ छ ।

बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सब–डिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । तर, हालसम्म नरभक्षी बाघ नियन्त्रणमा आउन भने सकेको छैन ।

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार ०९:०३