बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारी गाउँपालिकामा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ ।
राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए । बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।
बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६, हब्रहवा, फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक÷एक जनाको मृत्यु भएको थियो ।
बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।
राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा सर्वसाधारणमा त्रास फैलिएको बताए । अधिकांश जनता कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ । उनका स्थानीय नागरिकहरु घाँस काट्न जंगल जाँदा बाघको शिकार बन्नुपरेको छ ।
अस्ती शनिबार राप्तीसोनारी–६ हब्रहवाकी २९ वर्षीया चाँदनी थारु नरभक्षी बाघको शिकार भइन् । हिजो आइतबार साँझ ८ बजेतिर नरभक्षी बाघ मृतक चाँदनीको घर छेउमै आइपुग्यो । आहारको खोजीमा नरभक्षी बाघ मृतक चाँदनीलाई घरसम्म ल्याएको बाटो पहिल्याउँदै घरछेउ नजिकै पुगेको त्यहाँका स्थानीयहरु बताउँछन् ।
घरभन्दा ५० मिटर पारिपट्टी साँझ ८ बजेतिर नरभक्षी बाघ देखिएपछि मृतक चाँदनीको घरमा जाग्राम बसेका स्थानीयहरुले हो–हल्ला गरेपछि नरभक्षी बाघ भागेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए । राप्तीसोनारी गाउँपालिकाको विभिन्न जङ्गल क्षेत्रमा नरभक्षी बाघले मान्छे खान थालेपछि स्थानीयहरु त्रसित छन् ।
केही महिना अघिसम्म राप्ती नदीवारि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने नरभक्षी बाघ अहिले राप्तीपारि पुगेको छ । राप्तीवारिको नरभक्षी बाघ राप्तीपारि अर्थात् राप्तीसोनारी गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र नरैनापुर गाउँपालिकाका बन क्षेत्रमा देखिन थालेको छ । नरभक्षी बाघले स्थानीयहरुलाई गाउँ बस्तीमै झम्टिन थालेको छ ।
जङ्गलमा घाँस दाउरा गर्न गएकी चाँदनीलाई नरभक्षी बाघको आक्रमणबाट मारिएपछि स्थानीय त्रसित बनेका छन् । त्यसअघि शुक्रबार मात्रै बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । जंगलमा घाँस दाउरा काट्न गएको बेलामा उनीहरुलाई बाघले मारेको हो ।
बाँकेमा तीन महिनाको अवधिभित्र नरभक्षी बाघले चार जनाको शिकार गरिसकेको छ । विभिन्न कामले जङ्गलमा गएका नागरिक तथा पशु चौपायालाई बाघले दिनहुँ आक्रमण गरिरहेको छ । नरभक्षी बाघको आक्रमण बढ्न थालेपछि राप्तीसोनारी क्षेत्रका स्थानीय नागरिकहरु त्रसित बनेका छन् ।
बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीयले अनाहकमा ज्यान गुमाइरहेको बताउँदै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नरभक्षी बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर यस क्षेत्रका नागरिकलाई त्रासबाट मुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए ।
बाघ आतङ्क बढेपछि बाघ नियन्त्रण गर्न सरकारी निकायहरु अभियान बनाएरै लागेको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ बाघ पस्दै छन् ।
निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीतिर प्रवेश गरिरहेका छन् । निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको छ ।
बाघ संरक्षणमा लागेको सरकार र स्थानीयको सक्रियताले बाघको सङ्ख्या बढे पनि निकुञ्जमा आहाराको कमी हुँदा मानव बस्तीमा पुगेर बाघले आक्रमण गर्न थालेपछि त्यसको न्यूनीकरणका लागि सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने यस क्षेत्रका स्थानीय नागरिकहरुको भनाइ छ ।
।