काठमाडौं । दक्षिण एसियाली मुलुकमा पछिल्लो समय ओमिक्रोन सङ्क्रमण दर तीव्र गतिमा बढ्न थालेको छ । सङ्क्रमण दर बढ्दै गएको घोषणा विश्व स्वास्थ्य सङ्गठनले गरिरहँदा यस क्षेत्रमा ओमिक्रोनबाट मृत्यु दर पनि बढ्दो क्रममा रहेको स्वास्थ्य विश्लेषणले देखाएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सङ्गठन (सार्क)को कोभिड हेर्ने स्वास्थ्य डेस्कका अनुसार दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी अफगानिस्तानमा सङ्क्रमण र मृत्यु दर दुवै बढी छ । दुई दिनअघिको विश्लेषण ग्राफअनुसार त्यहाँ मृत्यु दर ४.७ प्रतिशत र सक्रिय दर ३.२ प्रतिशत छ । त्यसपछि श्रीलङ्कामा २.६ मृत्युदर र २.१ प्रतिशत सक्रिय दर छ ।
पाकिस्तानमा मृत्यु दर २.६ र सक्रिय दर ०.९, बङ्गलादेशमा मृत्यु दर १.८ र सक्रिय दर ०.५ प्रतिशत छ । भुटानमा ०.१ मृत्यु दर र सक्रिय सङ्क्रमितको दर ०.३ प्रतिशत छ भने माल्दिभ्समा ०.३ मृत्यु र २.७ प्रतिशत सक्रिय दर छ । नेपालको खुला सिमाना जोडिएको भारतमा सङ्क्रमणको दर ०.५ प्रतिशत र मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
भारतको सिङ्गो स्वास्थ्य स्थितिको विश्लेषण गर्दा पछिल्लो २४ घण्टामा भारतमा झन्डै एक लाख जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण फेला परेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको आँकडा हेर्ने हो भने यो अघिल्लो दिनको तुलनामा झन्डै ५७ प्रतिशतले बढी हो ।
भारतमा ह्वात्तै बढ्यो
भारतमा कुल सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर दुई लाख ८५ हजार ४०० बढी पुगेको छ । विगत २४ घण्टामा ३२५ जनाले ज्यान गुमाएका छन् । भारतको जनसङ्ख्याको आधारमा मृत्यु दर कम देखिए पनि ओमिक्रोनका सङ्क्रामक आक्रमक रहेको छ । भारतको दिल्ली, महाराष्ट्र, पश्चिम बङ्गालमा सबैभन्दा बढी सङ्क्रमणको दर छ । मुम्बईमा त बन्दाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
सीमा क्षेत्रमा कडाई
नेपालमा विगत एक सातायता ओमिक्रोन भेरियन्टका कारण कोभिड सङ्क्रमण दर बढ्दो क्रममा उक्लेको छ । दुई दिनयता यसले थप सङ्क्रामक अवस्था आउने सम्भावना बढाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले बताए ।
छिमेकी मुलुक भारतमा ओमिक्रोनको सङ्क्रमण उच्च दरमा वृद्धिपछि त्यसको असर नेपालमा पर्न जानु स्वाभाविक रहेको उनले बताए । भारतमा सङ्क्रमण दर बढेपछि भारतीय सिमाना छुने नेपालका जिल्लामा हेल्थ डेस्क स्थापना गरेर परीक्षण सुरु गरिएको छ । उनले भने, ‘अहिले परीक्षणमै जोड दिएका छौँ, सिमानामा रेखदेख बढाउने पनि भनेका छौँ ।’
खुला सीमा नाकाका कारण भारतबाट नेपाल भित्रिने नागरिकले सहजै ओमिक्रोन बोकेर आउने र त्यसलाई फैलाउन सक्ने सम्भावनालाई बढाएको छ । सङ्क्रमण दर पछिल्लो दुई दिनमा गम्भीर देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य निकायलाई तयारी अवस् थामा रहन भनेको छ । यसबाट बच्न खोप छिटोभन्दा छिटो लक्षित वर्गलाई लगाउन सबै निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
‘ओमिक्रोनलाई कम नआँकौं’
कोभिड–१९ को तेस्रो भेरियन्टले महामारीको तेस्रो लहर ल्याउन सक्ने भएकाले सतर्क रहन विश्व स्वास् थ्य सङ्गठनले अपिल गरेको छ । यस भेरियन्टले सङ्क्रमण दर उच्च बनाएकाले विश्वका हरेक स्वास्थ्य प्रणाली दबाबमा पर्दै गएको साताव्यापी पत्रकार सम्मेलनमा सङ्गठनका प्रमुख डा.टेडोस एड्हानोम ग्रेब्रियसले बताएका छन् ।
सङ्क्रमणको दर गतसाता ७१ प्रतिशतले बढेको सङ्गठनले औँल्याएको छ । यीमध्ये अमेरिकी महादेशमा १०० प्रतिशतले बढेको उल्लेख छ । खोप लगाएका व्यक्तिहरूमा डेल्टाभन्दा ओमिक्रोनले कम प्रभाव पारेको देखिएको भए पनि यसलाई कम जोखिमपूर्ण नमान्न गेब्रियसले अनुरोध गरेका छन् । यसले पनि पहिलेको भेरियन्टले जस्तै मानिसलाई अस्पताल पुर्याउने र मार्ने गरि रहेको छ ।
यसले पूर्ण खोप लगाएकालाई पनि अन्यलाई जस्तै सङ्क्रमित गर्न सक्ने उनले प्रस्ट पारेका छन् । ओमिक्रोनको प्रभाव कम गर्न उत्पादन भएका खोपलाई प्रभावकारी वितरण गर्नुपर्ने, खोप र पूर्व तयारीका लागि सबैको पहुँच पुर्याउनुपर्ने बताउँदै उाले खोप, उपचार, परीक्षण र स्वास्थ्यमै समताको मापदण्ड लागू गर्नुपर्नेमा जोड दिए ।
।