सूचनाको शक्ति - The Power Of Information

        

पाल्पामा बस दुर्घटना

बुबाको मलामी हिँडेका छोरासहित सातको मृत्यु, १० जना गम्भीर घाइते 

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा बुबा बीरबहादुर विकको मलामी गएका छोरा लालबहादुरको पनि मृत्यु भएको छ ।

दुर्घटनास्थलबाट चार वटा शव निकालिए पनि बाँकी शव बसले नै च्यापिएको पाल्पाका प्रहरी प्रमुख सन्तोष भट्टराईले बताए । आइतबार बिहान बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बुटवल–११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना भएको थियो ।

३६ जना मलामी सवार बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु भएकामध्ये बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खाँणले जानकारी दिए ।

प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ । सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १४:२५