सूचनाको शक्ति - The Power Of Information

        

बैचारिक बहसमा केन्द्रीत हुँदा माओवादीमा महाधिवेशन खर्च न्यून

काठमाडौं । पुस ११ देखि नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन राजधानी काठमाडौंमा जारी छ । सम्भवतः नयाँ नेतृत्व चयन गर्दै आज साँझसम्ममा महाधिवेशन सकिनेछ ।

विगत ८ दिनदेखि जारी महाधिवेशनमा पूर्व अनुमानित बजेटभन्दा कम खर्च भएको माओवादी स्रोतले जनाएको छ । महाधिवेशन लम्बिँदा पनि खर्च सोचेजति नभएको हो । माओवादी केन्द्रले महाधिवेशनका लागि एक करोड खर्च अनुमान गरेको थियो ।

शनिबारसम्म महाधिवेशनमा झण्डै ६५ लाख रुपैयाँ मात्रै खर्च भएको आयोजक स्रोतले जनाएको छ । महाधिवेशन एक करोडभन्दा कम खर्चमै सकिने अनुमान नेताहरुले गरेका छन् । महाधिवेशनमा १७ सय ४२ प्रतिनिधि सहभागी भएका छन् । सबै प्रतिनिधिले खाने, बस्ने व्यवस्था आफैँले गरेकाले केन्द्रको खर्च कम भएको हो ।

प्रतिनिधिका लागि पार्टी केन्द्रले दिउँसो एकपटक खाजाको मात्रै व्यवस्था गरेको छ । बिहान बेलुकाको खाने र बस्ने व्यवस्था सम्बन्धित जिल्ला र प्रदेश कमिटीहरुले नै गरेका छन् । महाधिवेशन अनावश्यक तडकभडक भन्दा पनि बैचारिक बहसमा केन्द्रीत भएकोले खर्च कम भएको माओवादी नेताहरुले दाबी गरेका छन् ।

प्रकाशित मिति : १८ पुष २०७८, आइतवार १०:३०