सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अन्ततः निर्वाचनतिरै मोडियो माओवादी, टाँसियो मतदाता नामावली

नेकपा माओवादी केन्द्रमा पहिलो पटक निर्वाचन प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता, भोली मतदान

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचनतर्फ मोडिएको छ । त्यसका लागि माओवादी केन्द्रको निर्वाचन आयोगले मतदाता नामावली पनि प्रकाशन गरिसकेको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने र भोलि मतदान गर्ने कार्यतालिका रहेको छ । जसमा कूल मतदाता १७४२ छन् । यसअघि १७ सय मात्र भनिएको थियो ।

अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व चयनमा सहमति नभए चुनावी प्रक्रिया सुरु गर्ने बताएका छन् । शनिबार विधान पारितपछि बसेको बन्दसत्रलाई सम्बोधन गर्दै प्रचण्डले सहमतिका लागि अधिकतम प्रयास गर्ने पनि बताएको प्रतिनिधि युवराज चौलागाईंले जानकारी दिए ।

‘हामीले संविधानको भावना मर्म र पार्टी विधानको मर्म र भावनालाइ समेटेर केन्द्रिय समितिको संख्याहरुमध्ये ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी गर्नेगरी निर्णय गरेका छौँ,’ प्रचण्डले भने, ‘हामी आयोजक समिति बसेर ५ बजेसम्म यसको गृहकार्य गर्छौं ।’

उनले बैठकमा सहमति भएन भने जनवादको प्रक्रिया अगाडि बढ्ने र निर्वाचन प्रक्रिया सुरु हुने बताएका थिए । प्रचण्डले सहमतिका लागि अधिकतम मिहिनेत गर्ने बताउँदै भने, ‘हाम्रो कोसिस अधिकतम रुपमा सहमति कायम गर्ने नै हुन्छ । सहमति नभए अर्को प्रक्रिया हुन्छ ।’

आज उम्मेदवारी दर्ता, भोली मतदान

निर्वाचन तालिका सार्वजनिक गरेसँगै माओवादीमा पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

अपरान्ह ४ बजेसम्म तोकिएको मतदाताउपर दावी बिरोधको समय सकिएको छ भने मतदाता नामावलीमा दावी बिरोधको सूचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी बिरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक भइसकेको छ ।

उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै साँझ ८ बजेदेखि सुरु हुनेछ । यसैगरी राति १०ः३० मा उम्मेदवार मनोनयनपछिको सूची सार्वजनिक गरिने तथा राति १०ः३० मा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै आइतवार बिहानवाट उम्मेदवारको बिरोधमा उजुरी दिने समय बिहान ८ः०० देखि ८ः३० सम्म आधा घण्टाको समय तोकिएको छ । साथै, उम्मेदवारको बिरोधमा परेको उजुरीको सूचना ८ः३५ मा निर्वाचन समितिले दिनेछ । उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखि ९ः०० बजेसम्म गर्नेछन् ।

उजुरी उपर छानविनपछि निर्वाचन समितिले ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । जसअनुसार समितिले ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० बाट मतदान प्रक्रिया सुरु भई ४ बजे सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १७ पुष २०७८, शनिबार १७:२२