काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन ।
उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान रोकिएकोे विमानस्थल कार्यालयले जनाएको छ। मौसममा सुधार आएर हुस्सु नफारेसम्म उडान तथा अवतरण गराउन नसकिने पनि विमानस्थलले जनाएको छ ।
बिहान केही अन्तर्राष्ट्रिय एयरलाइन्सले अवतरणको प्रयास गरेपनि सफल हुन नसकेको पनि विमास्थल कार्यालयले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले देशका धेरै स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको जनाएको छ । दिउँसो पनि देशभर आंशिक वा सामान्य बदली रहने भन्दै विभागले गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा हिमपातको संभावना रहेको पनि जनाएको छ ।
आजराति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको रहेको छ ।
अहिले पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल र भारतको उत्तर प्रदेश, बिहार आसपासमा रहेको पनि विभागले जनाएको छ ।
।