काठमाडौं । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण अहिले कोरोना भाइरस संक्रमणको सुनामी आएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएको बताएका हुन् ।
अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या अत्यधिक देखिएको छ ।
फ्रान्समा बुधबार एकैदिन दुई लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा पछिल्लो एक हप्तामा दैनिक रुपमा औषत दुई लाख ६५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
डेनमार्क, पोर्चुगल, बेलायत, अस्ट्रेलियासहितमा संक्रमण उच्च देखिएको छ । पोल्याण्डमा बुधबार कोभिड–१९ का कारण ७९४ जनाको ज्यान गएको छ । ज्याउन गुमाउनेमा तीन तिहाई भन्दा बढी खोप नलगाएकाहरु छन् ।
अध्ययनले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र भए पनि गम्भीर बिरामी पार्ने सम्भावना डेल्टाको भन्दा ३० देखि ७० प्रतिशत कम रहेको देखिएको छ । तर संक्रमण तीव्र हुँदा स्वास्थ्य सेवालाई गम्भीर रुपमा प्रभावित बनाएको छ ।
समाचार संस्था रोयर्टसका अनुसार अहिले विश्वव्यापी रुपमा दैनिक ९ लाखजनामा संक्रमण पुष्टि हुने गरेको छ।
।