सूचनाको शक्ति - The Power Of Information

        

समाचार

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको गाउँमा हिउँमा चौरी ।

काठमाडौं । मंगलबार रातिदेखि हिमपातसहित परेको पानीका कारण कर्णालीको हिमाली र उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर बनेको छ । उपल्लो डोल्पा, मध्य डोल्पाका साथै जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ ।

कर्णालीका अन्य हिमाली जिल्ला मुगु र हुम्लामा पनि केही दिन पहिलेदेखि नै हिमापात भइरहेको छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवा समेत प्रभावित भएको छ । बिहानैदेखि यी जिल्लाको चहलपहल ठप्प भएको त्यहाँस्थित प्रहरी कार्यालयले जनाएका छन् । वर्षाका कारण गहुँ र तरकारीलाई राहत भएको छ ।

आकाशे पानीको भरमा खेती गर्ने किसानहरू भने पानी पर्दा खुशी भएका छन् तर हिमपातले जनजीवन भने प्रभावित भएको छ । उच्च भागमा भने लगातारको हिमपातका कारण जनजीवन कष्टकर भएको डोल्पा कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए ।

हिमपातपछि बैतडीको खोड्पे बजारमा रोकिएका सवारी साधन ।

बिहानै घाँस संकलन गर्ने काम ठप्प भएपछि पशुचौपायालाई खुवाउने आहारामै समस्या भएको छ । चिसो अत्यधिक बढेको ठाउँमा विद्यालय खुल्न मुश्किल हुने गाउँपालिकास्तरीय शिक्षा इकाइले बताएका छन् । नियमित पानी परेका कारण यातायात सेवासमेत प्रभावित भएको छ ।

यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ ।

लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरु हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको हगुल्टे, बैतडीको अनारखोली, खोड्पे, सतबाँझ, श्रीभाबर, बजपानलगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

सडक अवरुद्ध

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार हिमपातपछि भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको हगुल्टेमा र दशरथ चन्द राजमार्ग अन्तरगत बैतडीको खोड्पेमा यातायात सेवा अवरुद्ध भएको छ । हिउँ पर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राजमार्ग खुलाउन प्रयास भइरहे पनि बाक्लो हिउँका कारण समस्या भइरहेको छ । बाजुरा, बझाङ, डोटी, दार्चुलाका हिमाली र उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएपछि चिसो बढेको छ । चिसो बढ्दा जनजीवन कष्टकर भएको छ ।

पहाडी जिल्लामात्र नभएर मंगलबार राति कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वर्षा भएपछि चिसो बढेको छ । चिसोले वृद्धवृद्धा र बालबालिका प्रभावित हुनसक्ने भन्दै चिकित्सकहरुले ख्याल राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०८:४६