सूचनाको शक्ति - The Power Of Information

        

पहिरो नियन्त्रणको माग गर्दै वडा कार्यालयमा तालबन्दी

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका वडा नंं. २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नं. २ का दाणिमपाटा र दमाई गाउँका स्थानीयले पहिरो नियन्त्रणको माग गर्दै वडा कार्यालयमा ताला लगाएका हुन् ।

गाउँ जोगाउन पहिरो नियन्त्रणको माग गर्दै स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएका छन् । सडक निर्माणपछि गाउँ पहिरोको जोखिममा रहेको र नियन्त्रणका लागि कसैले चासो नदिएपछ वडा कार्यालयमा ताला लगाएको स्थानीयहरुले बताएका छन् ।

गाउँपालिकाले २०७४ र ०७५ सालमा दाणिम पाटा र दमाई गाउँका लागि सडक कटान गर्न ४ लाख बजेट विनियोजन गरेको थियो । चाखाका स्थानीयहरुले जग्गा नदिएपछि चौधारीबाट दाणिमपाटा गाउँमा सडक खनिएको र सडकले गर्दा गाउँ जोखिममा परेको स्थानीय विनोद सार्कीले बताए ।

गाउँ जोखिममा परेको भन्दै बेलाबेला वडाध्यक्षको ध्यानाकर्षण गराएको र वडाध्यक्षले कुनै चासो नदिएपछि आफुहरु ताला लगाउन बाध्य भएको स्थाीिनयले सिद्द सार्कीले बताए । सुदूरपश्चिम प्रदेश सरकारले दमाई गाउँ पहिरो नियन्त्रणका लागि १० लाख रकम विनियोजन गरेको भए पनि टाठाबाठाहरुले स्थानीयहरुलाई जानकारी नदिएर समिति गठन गरी सम्झौता गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।

आफुहरुका गुनासोलाई सम्बोधन गराउन भए पनि वडा कार्यालयमा लगाएको ताला प्रहरी परिचालन गरी काटिएको समेत स्थानीयहरुले बताएका छन् । दुर्गाथली गाउँपालिका २ का वडध्यक्ष दिपक सोतीले वडा कार्यालयमा कुनै पनि निवेदन नदिएको र आफुलाई कुनै जानकारी विना नै ताला लगाएकाले ताला काट्नुपरेको बताए ।

दाणिम पाटा र दमाई गाउँमा पहिरोको कुनै जोखिम नरहेको र प्रदेश सरकारले छुट्याएको बजेटबाट दमाई गाउँ पहिरो नियन्त्रण कार्य सुचारु हुने क्रममा रहेको समेत बताए । स्थानीयहरुले आफुलाई कुनै गुनासो नगरेको र केहि सिमित मान्छेले आफ्नो स्वार्थको लाग यस्तो हर्कत देखाएको समेत वडध्यक्ष सोतीको भनाई छ ।

प्रकाशित मिति : १४ पुष २०७८, बुधबार ०८:१७