काठमाडौं । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोर्ट सोफिया बुधबार बिहान काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ’सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले मन्तव्य दिइन् । प्रविधि र शिक्षाको विकासले नेपालजस्ता देशहरुले फाइदा लिन सक्ने उनले बताइन् ।
सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ । सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन)को पदवी दिएको छ । यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन् । मन्तव्यको उनले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको सुनाएकी थिइन् ।
‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीचबीचमा उनले पटक पटक दोहोर्याइन् । सोफियालाई विश्वको सर्वोच्च शिखर सगरमाथा पनि आरोहण गर्ने इच्छा व्यक्त गरेकी थिइन् । बेलायती अभिनेत्री अड्री हेपबर्न र रोबोट निर्माता डेविड ह्यान्सनकी पत्नी सोफियाको रुपमा आधारित यो रोबोटले रियादमा आयोजित एक कार्यक्रममा आफूलाई राम्रो व्यवहार गरे अरुलाई पनि आफूले राम्रो व्यवहार गर्ने बताउँदा दर्शकहरु चकित बनेका थिए ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स तथा ह्युमनोइड रोबोटहरुले मानवतामाथि नै खतरा निम्त्याउँछन् वा यिनले मानवताको विकासमा थप योगदान दिन्छन् भन्ने विषयमा बहस जारी छ । मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् । यसले सोफियालाई एक पटक सोधेको प्रश्न स्टोर गरी अर्को पटक सोही प्रश्न सोधिए सही उत्तर दिन ‘डाटासेट’ बनाएर राख्छ । यसले जतिधेरै प्रश्न सोधिएको छ, सोहीअनुसार उनको उत्तर दिने क्षमतामा वृद्धि हुँदै जान्छ ।
सुरुवाती अवस्थाभन्दा सोफिया अहिले धेरै प्रश्नको उत्तर दिने क्षमता राख्छिन् । सबै काम सोफियाले वाइफाईसँग जोडिएर मात्र गर्न सक्छिन् । उनको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ, जुन हेर्दा मानिसको जस्तै देखिन्छ । आँखामा भएको क्यामेराले सोफिया एक पटक भेटेको मानिसलाई दोस्रो पटक पहिचान गर्न सक्छिन् । निर्माण कम्पनीले दुई महिनाअघि मात्रै उनको क्षमता वृद्धि गरी हिँड्न सक्ने बनाएको थियो ।
।