सूचनाको शक्ति - The Power Of Information

        

फेरिएन नेपालगन्जको मुहार

बाँके । पुरानो तथा ऐतिहासिक शहर नेपालगन्जको मुहार फेरिन सकेको छैन । राणा प्रधामन्त्री जंगबहादुर राणाले परिकल्पना गरेको नेपालगन्ज शहरको व्यवस्थित विकास हुन नसक्दा मुहार फेरिन नसकेको स्थानीयको गुनासो छ । फोहोर व्यवस्थापन छाडा चौपाया, सडकपेटी अतिक्रमण र जताजतै ठेला राख्ने प्रवृत्तिका कारण शहरको सुन्दरता गुमेको छ । लामो समयसम्म जनप्रतिनिधि नहुँदा शहरले काँचुली फेर्न सकेको थिएन ।
स्थानीय तहको निर्वाचनपछि नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि करीब सय दिन पुग्न लाग्यो तर, हिजो र आज शहरको दुरावस्था उस्तै हुँदा नगरबासी निरास भएका छन् । हुने विरुवाको चिल्लो पात भने झै केही गरौं भन्ने भावना भएमा प्रारम्भिक चरणमा झाँट आउनु पर्नेमा निर्वाचित नेतृत्वले नगरसभासमेत गर्न नसक्दा नगरबासी अन्यौलमा परेका छन् । नेतृत्व तहले भने अब छिट्टै नगरसभा गरेर नीति तथा कार्यक्रम र बजेट पास गरेर विकासको कामलाई तीव्रता दिने बताएको छ ।
नेपालगन्जका स्थानीय सुमन गिरी नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि नहुँदा विकासले तीव्रता नलिएको हो कि भने सोचेकोमा हाल जनप्रतिनिधि आउँदा पनि परिवर्तनको संकेतहरु देख्न नसक्दा निरास भएको बताउँछन् । उनले जनप्रतिनिधिहरुश्रबाट जनताले ठूलो अपेक्षा राखेको र जनतासामु जनप्रतिनिधिले पनि प्रतिवद्धता जारी गरेकाले आफुले गरेका बाचा पूरा गर्नका लागि शुरुदेखि नै सुशासन ऐन नियममा राखेर रहेर कार्य गरी नगरलाई स्वच्छ, सफा र हराभरा बनाउन लाग्नु पर्ने सुझाव दिए ।
स्थानीय ज्ञानेन्द्र श्रेष्ठ झण्डै एक सय दिनको अवधीमा जप्रतिनिधिले आन्तरिकरुपमा योजना बनाएको भए पनि जनताले आभाष गर्ने खालका काम गर्न नसकेको टिप्पणी गरे । उनले नेपालगन्जको समग्र विकासका लागि जप्रतिनिधिहरुले तीव्र गतिमा आफ्ना काम कारवाही अगाडि बढाएर जनतालाई स्वच्छ र सुन्दर शहरको अनुभूति दिलाउनु पर्ने बताए । २०१७ सालमा नगरपालिकाका रुपमा स्थापना भएको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र व्यवस्थित ढल, सडक नहुँदा तथा नगरमा फोहोर व्यवस्थापन अतिक्रमण छाडा चौपायालगायतका कारण शहर कुरुप बन्दै गएको छ ।
बढ्दो जनघनत्व आधुनिकतासंगै शहरको दीर्घकालीन र व्यवस्थित विकास हुनु पर्नेमा त्यसो हुन सकेको छैन । नेपालगन्ज बसपार्कको निर्माण, नगर क्षेत्रभित्र पर्ने हुलाकी सडक, फोहोर व्यवस्थापन गर्ने ठाउँको निर्माणका लागि सम्झौता भए पनि ती काम पनि समयमै हुन सकेका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाको नियमित बजेट बाहेक एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास परियोजना पनि संचालनमा आएको छ । निर्वाचनपछि उपमहानगरपालिकामा रहेका वडा कार्यालय भने सम्बन्धित वडामा स्थापना गरेर काम कारवाही संचालन गरिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७४, शनिबार ०७:२७