सूचनाको शक्ति - The Power Of Information

        

विद्युत प्राधिकरणको चुहावट घट्यो

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो चार महिनामा नै विद्युत प्राधिकरणको चुहावट उल्लेख्य दरले घटेको छ ।

प्राधिकरणले चालू आवको पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको हो ।

यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको हो ।

एक प्रतिशत विन्दुमात्रै चुहावट घटाउँदा पनि प्राधिकरणलाई झण्डै ७० करोड रुपैयाँ बराबरको नाफा हुन जाने बताइन्छ । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि बढाउन नसक्दा पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो ।

तर कोरोनाको असर कम भएर जनजीवन नियमित प्रक्रियामा फर्केपछि प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई पुनःदेशव्यापीरुपमा सञ्चालन गरेको थियो । जसबाट अपेक्षित नजिता हासिल भएको प्राधिकरणले जनाएको छ ।

झण्डै तीन प्रतिशत विन्दुको हाराहारीमा चुहावट नियन्त्रण हुँदा त्यसबाट प्राधिकरणलाई झण्डै एक अर्ब ५० करोड बराबरको मुनाफा हुने अवस्था देखिएको प्राधिकरणको दाबी छ ।

हरेक प्रदेश कार्यालय, स्थानीय वितरण केन्द्रलाई समेत चुहावट नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न स्पष्ट निर्देशन दिइएको परिणाम हासिल भएको कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आइतवार १७:२८