राप्रपा महाधिवेशनको निर्वाचन परिणाम भर्खरै बाहिरिएको छ । परिणामअनुसार राप्रपाका सदाबहार हस्ती कमल थापा अध्यक्षमा पराजित हुँदा राजेन्द्र लिङ्देन विजयी भएका छन् । सामान्य अर्थमा असामान्य लाग्ने यो परिणाम एक किसिमले चक्मा दिने खालको छ । समाचार लिङ्देन विजयी भए भन्नेभन्दा पनि थापा पराजित भए भन्ने हो, यस अर्थमा यो ठूलो समाचार पनि हो । र, यही कोणबाट हेर्दा भने यो विषय बहुआयामिक विश्लेषणको विषय बन्न सक्छ । अझ त्यसमा पनि थापाले आफ्नो हारको जिम्मा आफूले लिनेभन्दा पनि ज्ञानेन्द्र शाहलाई थमाइ दिएका छन् । हारपछिको उनको यो आक्रोशपूर्ण अभिव्यक्तिले पनि विषयलाई थप पेचिलो बनाएको हो ।
शुरूमा विषयमा प्रवेश गरौं । यसका लागि कमल थापाका बारेमा केही लेख्नैपर्ने हुन्छ । कमल थापा पञ्चायतदेखिकै एक चतुर राजनीतिक खेलाडी हुन् । राष्ट्रवादी मण्डलको संस्थापक अध्यक्ष बनेका थापाको नशा नशामा पञ्चायत र राजतन्त्रको रगत बगेको छ भन्दा पनि हुन्छ । उनी जे हुन् पञ्चायत र राजदरवारकै उत्पादन हुन् र उनले जे गरेका छन् त्यो पनि निरंकुश राजतन्त्रको बफादारी नै गरेका छन् । यस क्रममा उनले नेपाली राजनीतिमा सत्ताका लागि जता पनि सर्ने मुसा प्रवृत्तिको प्रवेश मात्र गराएका छैनन्, राजा आऊ देश बचाऊ भन्दै चुनाव लडेर गणतन्त्रवादी खड्गप्रसाद ओलीको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसम्म बन्न भ्याएका छन् ।
राजेन्द्र लिङ्देनबाट अप्रत्यासित रूपमा हारेपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको ठहर गर्दै आक्रोश ट्विटे, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो ।’ उनको यो भनाइपछि ‘मुसा प्रवृत्ति’का पर्याय मानिने थापाको अर्को चाल के होला ? भन्ने प्रश्नले ठाउँ पाएको छ । यस प्रश्नको सम्भावित उत्तरका लागि तीन विकल्प अगाडि सार्न सकिन्छ एक, रामप्रपामै बस्लान्, दुई राप्रपा फुटाउनान्, तीन एमालेमा प्रवेश गर्लान् । झट्ट सुन्दा तेस्रो विकल्प अप्रत्यासित जस्तो देखिए पनि साँच्चै राजाले नै हराएका हुन् भन्ने उनको ठहर हो भने उनले यही विकल्प रोज्न सक्छन् ।
ज्ञानेन्द्रले सत्ता लिएपछि उनको गृहमन्त्री बनेका थापाको यो राजनीतिक छलाङले उनको राजीतिक चतुर्याइ र धुत्र्याइको सफलताको ग्राफ देखाउँछ । राजावादी पार्टी राप्रपाका अनेक ब्राण्डमा पनि महत्वपूर्ण रहेका थापा राप्रपा नेपाल गठन गरेपछि भने निर्णायक रहदै आएका थिए, राप्रपा नेपाल रहँदा त हुने भए नै बेला बेलामा जोडिएर राप्रपा एउटा हुँदा पनि उनी निर्णायक थिए नै । यसपटक अध्यक्षको प्रत्यासी हुँदा पनि उनी राप्रपाका तीन अध्यक्षमध्ये एक थिए । त्यही हैसियतमा उनी राप्रपाको सर्वसम्मत अध्यक्ष हुने दाउमा थिए । अरू दुई अध्यक्ष पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीले रिङ खाली गरिदिए पनि उनकै खेमाका महामन्त्री राजेन्द्र लिङ्देनले भने रिङ खाली गर्न मानेनन् ।
थापालाई लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, दीपक बोहोरालगायका अनेकौँ हस्तीको साथ र समर्थन रहेकाले उनले हारको कल्पनासमेत पनि गरेका थिएनन् । शायद गरेका हुन्थे भने उनले लिङ्देनलाई रोक्न अरू पनि रणनीति बनाउन सक्थे । तर, यी चतुर खेलाडी अति विश्वासको नराम्ररी शिकार भए । अब प्रश्न उठ्छ, के उनलाई ज्ञानेन्द्र शाहले नै हराएका हुन् त ? यो प्रश्नको उत्तर सपाट भेटिँदैन । ज्ञानेन्द्र शाह श्री ५ हुँदाका गृहमन्त्री हुन् थापा । उनलाई टिकाउन न्वारानदेखिको बल लगाएर २०६२–०६३ को आन्दोलन दबाउन लागेका थिए उनी । पछि मुलुकमा ज्ञानेन्द्र शासन गएपछि पनि उनै ज्ञानेन्द्रलाई देखाएर थापाले राजनीतिक पुनरागमन गरेका थिए ।
आफ्नै बफादार यिनै थापालाई हराउन ज्ञानेन्द्र नै लागे होला त ? नलाग्नुपर्ने हो तर यो आरोप महाधिवेशनका क्रममै लगाइएको थियो र निर्मल निवासका तर्फबाट त्यसको खण्डनसमेत भएको थियो । तर, अर्को कोणबाट हेर्दा यसमा आंशिक सत्यता हुन पनि सक्छ । आफैंले स्थापना गरेको राप्रपा नेपालकै रजगज भएको राप्रपा, अझ त्यसमा पनि पशुपतिशम्शेर, लोकेन्द्रबहादुर, दीपक बोहोराजस्ता हस्तीको साथ हुँदा पनि उनीभन्दा कम आँकिएका लिङ्देनबाट यति सोझो अंकगिणतकै हिसाबले पराजित भएका होलान् त ? अझ पदाधिकारीमा अधिकांश थापा प्यानलकै विजयी हुँदा उनी मात्र त्यत्रो मतान्तरले हार्नुपर्ने हो त ? यी प्रश्नहरूको उत्तर खोज्ने कोणबाट हेर्दा उनलाई हराउन कुनै शक्ति नलागेको होला भन्न सकिन्न । यदि त्यस्तो शक्ति लागेकै हो भने निर्मल निबासभन्दा अर्को सम्भावित शक्ति पनि देखिदैन ।
एउटा कुरा के चाँहि सत्य हो भने थापा गणतान्त्रिक सरकारमा सहभागी भएको ज्ञानेन्द्रलाई खासै जचेको थिएन र उनको यही सत्तामोहका कारण राप्रपाले हठात् हासिल गरेको शक्तिमा ठूलो क्षय भएको थियो । थापाको यो कदमलाई लिएर राप्रपामा ठूलो असन्तोष थियो र उनका विरोधीहर पनि यसैलाई आधार बनाएर थापाविरूद्ध प्रहार गरिरहेका थिए । महाधिवेशनमै पनि को बढी राजावादी भन्ने खालको होडबाजी नै चलेको थियो । यो विषय केन्द्रमा आउँदा थापा कम राजावादी भएर हारेका हुन सक्छन् । यही कोणबाट भने थापा ज्ञानेन्द्र शाहविरूद्ध खनिएका हुन सक्छन् ।
अब थापा के गर्छन् त ? नेपाली राजनीतिक वृतमा नयाँ प्रश्नका रूपमा यसले प्रवेश पाएको छ । तत्कालका लागि यसका तीन सम्भावित उत्तर हुन सक्छन् । पहिलो, लिङ्देनले दिने अफंकारिक पद लिएर राप्रपामै बस्ने, दोस्रो पार्टी फुटाएर अर्को पार्टी बनाउने, तेस्रो ज्ञानेन्द्र शाहको उधुम रिसले खड्गप्रसाद ओलीको एमाले पार्टीमा प्रवेश गर्ने । यी तीन विकल्पमध्ये कुनै एक रोज्न सक्छन् थापाले । जहाँसम्म पहिलो विकल्पको कुरा हो, उनको विगत र चरित्रलाई हेर्दा यो विकल्प रोज्ने सम्भावना कम छ । तर, उमेर बढ्दै गएको र यत्रो महाधिवेशनमै खुल्लमखुल्ला हारेकाले लोकलाजका लागि पनि उनले यो विकल्पको युटर्न बार्टो रोज्न सक्छन् । दोस्रो विकल्प, उनको विगत र चरित्रसँग मिल्छ । त्यसैले ‘देखिने’ राप्रपाको ठूलो हिस्सा लिएर उनी त्यो विकल्पमा जान सक्छन् ।
जहाँसम्म तेस्रो विकल्पको कुरा हो, यो अलि अप्रत्यासित जस्तो देखिए पनि असम्भव चाँहि छैन । यसका केही वस्तुनिष्ठ आधार छन् । पहिलो, यदि ज्ञानेन्द्र शाह साँच्चै नै उनलाई हराउन लागेका हुन् भने राजाकै मियो वरिपरि घुम्ने राप्रपामा उनको भविष्य हुँदैन । थापाले यत्रो आरोप लगाएर ज्ञानेन्द्र शाहलाई लल्कारेपछि अब साँचो मानेमा राजावादीका नेता लिङ्देन नै हुन्छन् । यसका लागि उनले ठूलो मेहेनत गर्नै पर्दैन । थापाको आक्रोशले नै राप्रपाको आगोमा घ्यु हाल्ने काम गर्छ र राजावादीहरू लिङ्देनको क्याम्पमा गोलवद्ध हुन थाल्छन् । यस्तो अवस्थामा थापाले अर्को पार्टी खोल्ने जनआधार पनि सकिन्छ । राप्रपा नै अरू बढी राजावादी र हिन्दूवादी पार्टी भएपछि कमल थापासँग पार्टी खोल्ने कुनै ‘सेलिङ पोइन्ट’ नै हुँदैन । अब त्यस्तो सम्भावना नभएपछि उनका लागि बचेको बिकल्प भनेको अरू पार्टीमा नै हो ।
त्यसो हुँदा उनको लागि सबैभन्दा सहज पार्टी भनेको ओली पार्टी नै हुन्छ । यसअघिको चुनावमा यी दुई पार्टीबीच सहकार्य भएकै हो । ओली प्रधानमन्त्री हुँदा थापा उनको उपप्रधानमन्त्री पनि भएकै हुन् । थापाको गृहजिल्ला मकवानपुरका लोकप्रिय नेता विरोध खतिवडा माधव नेपालको पार्टीमा गएकाले त्यहाँ एमालेका लागि थापा निर्विकल्प नेता पनि हुन सक्छन् र मूल कुरो चुनाव जितेर लाभको पद हासिल गर्ने हो, त्यसका लागि थापालाई यो सम्भावनाको गोटी चाल्दा सहज पनि हुन सक्छ ।
अर्कोतिर, ओलीलाई पनि थापाको जरूरी छ । पहिलो त, थापा एमालेमा आउँदा ओलीले मकवानपुरमा विरोध खतिवडालाई टक्कर दिने ‘एमाले नेता’ पाउँछन् । दोस्रो, उनीसँगै ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा जनाधार भएका राप्रपा नेता राम थापा पनि एमाले हुन्छन्, यसबाट ओलीलाई चुनाव जित्न सहज हुन सक्छ । तेस्रो, कमल थापासँगै राप्रपाको ठूलै पंक्ति प्रवेश गर्दा एमालेका लागि चुनावमा भोट जोडिन्छ । यसबाट माधव नेपाल बाहिरिदाको केही मात्रामा भए पनि सोधभर्ना हुन्छ । चौथो, यसो भयो भने ओलीको तीन महिने पार्टी प्रवेश अभियानले एक तहको सार्थकता पनि पाउँछ ।
अतः यी सबै कोणबाट हेर्दा कमल थापा केही समयपछि नै एमाले नेता नहोलान् भन्न सकिन्न् । किनकि, एमालेलाई ओली पार्टी बनाइएको छ र उनको अर्जुन दृष्टि चुनावमा छ । र, केही सिट जित्न वा प्रतिस्पर्धी बनाउँन थापा काम आउँछन् भन्ने ओलीलाई राम्ररी थाहा छ । प्रस्तुत पृष्ठभूमिमा राप्रपा महाधिवेशनको साइड इफेक्ट एमालेमा नदेखिएला भन्न सकिन्न । त्यसो हुँदा एमालेका ‘कम्रेड’हरूले मुठ्ठी उठाएर लाल सलाम ‘कम्रेड कमल’ भन्नुपर्ने दिन खासै टाढा नहुन सक्छ । यसै पनि भनाइ नै छ, राजनीतिको शव्दकोषमा असम्भव भन्ने शव्द नै हुँदैन । त्यसमा पनि ओली पार्टी त यसै पनि सम्भव कम हुने र असम्भव बढी हुने पार्टी हो । (डा.प्रदीप भट्टराई/दृष्टि न्यूज)
।