सूचनाको शक्ति - The Power Of Information

        

बोक्सी आरोपमा यातना खेपेकी राधाको आग्रह, ‘घर फर्कन चाहन्छु, वातावरण बनाइदिनुस्’


कैलाली । बोक्सीको आरोपमा बर्बर यातना भोगेकी घोडाघोडी नगरपालिकाकी ५ देउकलियाकी १८ वर्षीया राधा चौधरी घटनापछि ओरेक नेपालको धनगढीस्थित सेफ हाउसमा छिन् । फागुन २४ गते भएको निर्मम कुटपिटपछि अस्पतालमा उपचार गराएर सेफ हाउसमा बसिरहेकी उनले घर फर्किने इच्छा देखाएकी छन् । ‘म घर जान चाहन्छु, तपाईंहरूले वातावरण बनाइदिनुहोस्’, राधाले भनिन्, ‘घरमा बसेर आफ्नो पढाइ पूरा गर्न चाहन्छु ।’
गत फागुन २४ गते भोलेबाबा भनिने रामबहादुर चौधरी, पार्वतीमाता भनिने किस्मती, स्मारिका लगायतले राधामाथि बोक्सीको आरोप लगाएर ६ घन्टासम्म कुटपिट गर्नुका साथै यातना दिएका थिए । घोडाघोडी नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत राधा पुरानै अवस्थामा जीवनयापन गर्न चाहन्छिन् । तर, उनलाई आफूले भोगेको घटना फेरि दोहोरिएला कि भन्ने डर पनि लाग्छ ।
‘म घरमै बसेर आफनो अध्ययन अघि बढाउँछु’ मंगलबार प्रदेश सांसद चुनकुमारी चौधरीसहित चार जना मिलेर संकलित सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले भनिन्, ‘तर, अझै गाउँघरमा बस्ने वातावरण बन्न सकेको अनुभव भएको छैन । तपाईंहरूले सहयोग गरिदिनुपर्यो ।’ कार्यक्रममा प्रदेश सांसद चौधरीले ७ नम्बर प्रदेशमा छाउपडी, बोक्सी लगायतका कुप्रथा र कुसंस्कार अहिले पनि विद्यमान रहेको चर्चा गरिन् ।
‘सामाजिक, सांस्कृतिक कुसंस्कार तथा कुप्रथा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रम अझ व्यापक ढंगले सञ्चालन गर्न आवश्यक छ’, उनले भनिन् । उनले आगामी दिनमा प्रदेशमा यस्ता घटना दोहोरिन नदिन कडा नीति बनाएर लागू गरिने पनि बताइन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य लक्ष्मीकुमारी चौधरीले राधामाथि भएको घटनाको जति निन्दा गरे पनि कम हुने बताइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले समाजमा हुने कुप्रथा, कुसंस्कार विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

राधालाई सहयोग रकम हस्तान्तरण
कार्यक्रममा राधालाई प्रदेश सांसद चुनकुमारी सहितले संकलन गरेको रकम हस्तान्तरण गरियो । प्रदेश सांसद चुनकुमारी तथा हाल बेलायतमा रहेका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदान गरेकोे ३६ हजार रुपैयाँ उनलाई दिइएको हो । सो क्रममा प्रदेश सांसद चुनकुमारीले अब राधाले महिला हिंसाको अन्त्यका लागि अभियन्ताका रूपमा अभियानमा जुट्नुपर्नेमा जोड दिइन् । उनले छिटै ‘कुरीति विरुद्ध साझा अभियान’ को थालनी गरिने बताइन् । उनले अभियानमार्फत सबैखाले हिंसा न्यूनीकरणका लागि वकालत गर्ने, पीडितको घाउ पुर्न पहल गर्ने तथा सरकारलाई दबाव दिइने बताइन् ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ०३:४४