सूचनाको शक्ति - The Power Of Information

        

अब भाडामा बस्नेले पनि छुट्टै बिजुली मिटर राख्न पाउने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने बताएकी छिन् । कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको उनले बताइन् ।

मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने बताइन् । अहिले घरेबेटीले कोठामा बस्नेसाग चर्को भाडा असुल्ने गरेको गुनासो सर्वत्र छ । तोकिएको न्युनतम् महसुल भन्दा बढी महसुल लिँदा कोठामा बस्नेहरुले विद्युतीय समाग्री प्रयोगमा ब्यवधान भोगिरहेका छन् ।

प्राधिकरणले तोकिएभन्दा बढी महसुल नलिन र नतिर्न आग्रह गरेपनि शहरी क्षेत्रमा बढी महसुल उठाउने प्रचलन हटेको छैन । अब प्राधिकरणले आफ्नो विनियमावलीमै यस खालको व्यवस्था गरेको हो ।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने पनि बताएकी छिन् । उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन्

विद्युत वितरण विनीयमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण बिनियमावली बनाइएको उनले जानकारी दिइन् । मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउनेे छन् ।

१०० केभिएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार १७:५०