बाँके । उडान भरेको केही समय मै बुद्ध एयरको जहाजले पुनः भरतपुर बिमानस्थल मै आपतकालीन अवतरण गरेको छ । यान्त्रिक गडबडी आएपछि अवतरण गरेको बुद्ध एयरले जनाए पनि यात्रुले भने गम्भीर लापरवाही गरिएको बताएका छन् ।
‘धन्न मर्न बाट बाच्यौं,’ उक्त जहाजमा रहेकी नेपालगन्जकी सकुन्तला शाहले भनेकी छन्, ‘एयरलाइन्सहरु मान्छेको जीवनसँग किन खेलबाड गर्छन ?’ उनले छोटो भिडियो फेसबुकमा अपलोड गरेकी छन् । निकै हतास मुद्रामा देखिएकी उनले आँशु झार्दै भनेकी छिन्, ‘केही सोच्न सक्ने अवस्थामै छैन । यो मेरो दोस्रो जीवन हो ।’
काठमाडौ जान लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको थियो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको थियो ।
जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । प्रहरीका अनुसार यतिबेला जहाजलाई धावनमार्गमा परीक्षण तथा आगो निभाउने काम भैरहेको छ । जहाजमा खराबी आएपछि अन्य उडान प्रभावित भएका छन् ।
।