सूचनाको शक्ति - The Power Of Information

        

ओलीले ताने ईश्वरलाई, हटाइए झलनाथ


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकता भएपछि पनि पार्टीमा आफ्नो उत्तराधिकारीका रुपमा ईश्वर पोखरेललाई अगाडि बढाउने प्रष्ट छनक दिएका छन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकता प्रक्रियामा अहिले गठन गरिएको आठ सदस्यीय संयोजन समिति नै निर्णायक हुन्छ, जुन एकीकृत पार्टीको स्थाई समितिको एउटा स्वरुप जस्तै हो । पार्टी एकता संयोजन समितिमा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई हटाई त्यो ठाउँमा ईश्वर पोखरेललाई भित्र्याएर ओलीले पोखरेललाई अगाडि बढाउन खोजेको गठबन्धनमा चर्चा सुरु भएको छ ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले मंगलबार राष्ट्रिय सभागृहमा आयोजना गरेको गठबन्धन घोषणा सभामा ओली र नेपालसँगै खनाल पनि अघिल्लो पंक्ति थिए । एमाले, माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टी एकता संयोजन समितिमा आठ सदस्य रहने सहमति भएको थियो । सुरुमा एमालेबाट रहने चार सदस्यमा अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको नाम चर्चामा थियो । तर प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा तालमेल गर्दै पार्टी एकता गर्ने घोेषणा सभामा चार जनाको नाम खुलाइएको थिएन ।
बुधबार गौतमको निवासमा बसेको संयोजन समितिको पहिलो बैठकमा एमालेबाट अध्यक्ष ओली, नेपाल, गौतम र पोखरेल सहभागी भएपछि खनाललाई हटाइएको खुलासा भयो । खनालले संयोजन समितिमा आफुलाई नराखिएकोमा अध्यक्ष ओलीसँग असन्तुष्टी जनाएका छन् । समितिमा को को रहने भन्नेबारे पार्टीमा कुनै छलफल नभएको बताउँदै खनालले भने, ‘पार्टीमा कम्तिमा छलफल हुनुपथ्र्यो, मलाई त कुनै जानकारी नै दिइएन ।’ एकता संयोजन समितिमा रहेका एमाले नेता नेपाल पार्टीमा ओलीका आलोचक मानिन्छन् भने खनाल पनि नेपालतिरै थिए । वामदेव गौतम अहिले ओलितिरै छन् । ओलीले त्यति भर नगर्ने भए पनि वाम गठबन्धनमा महत्वपूर्ण भूमिका खेलेका कारण गौतमलाई समितिमा छुटाउने अवस्था थिएन ।
ओली चाहीँ पोखरेललाई ल्याएर समितिमा आफ्नो अवस्था बलियो बनाउन चाहन्थे भने सँगसँगै एकीकृत पार्टीमा उनलाई अगाडि बढाउन चाहेको सन्देश पनि दिन चाहन्थे । त्यसका लागि ओलीले खनाललाई समितिबाट हटाएर पोखरेललाई ताने । बिहिबार ओलीले अध्यक्षता गरेको संयोजन समितिको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए भने नयाँ शक्तिबाट बाबुराम भट्टराई । अध्यक्ष दाहालले भने एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठ र बैद्य समूहबाट माओवादी केन्द्रमा फर्किएका थापालाई समितिमा राखेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहीबार ०५:४६