सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेस १४ औं महाधिवेशन

कांग्रेसमा आज मतदान, १३४ पदमा ४९१ जना चुनावी प्रतिस्पर्धामा

भोट माग्न व्यस्त कांग्रेस नेता/कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ  ।

मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

त्यस्तै भृकुटीमण्डप प्रांगणमा राखिएका २९३ बुथबाट प्रदेश २ र गण्डकी प्रदेशका प्रतिनिधि र भृकुटीमण्डपको हलमा राखिएका ५१४ बुथबाट प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् ।

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका निर्वाचन समितिले जनाएको छ । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ६१ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन् । सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरी र ५९ जना विभिन्न कलस्टरका सदस्यका प्रत्यासीले मनोनयन फिर्ता लिए ।

को को छन् पदाधिकारीका उम्मेदवार

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी परेको छ । यसैगरी दुई जना उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह गरी सातै जनाको उम्मेदवारी परेको छ ।

यस्तै दुई महामन्त्री पदका लागि छ जनाको उम्मेदवारी परेको छ । महामन्त्रीमा डा.प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी छ । एक महिला सह–महामन्त्री पदमा कमला पन्त र डीना महालक्ष्मी उपाध्याय, दलित एक सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्मा, जीवन परियार र गङ्गा सुनारको उम्मेदवारी परेको छ ।

आदिवासी जनजातितर्फ एक सहमहामन्त्री पदका लागि विकास लामा र भीष्मराज आङदाङवेको उम्मेदवारी कायमै छ । खस आर्यतर्फ एक सहमहामन्त्री पदका लागि देवराज चालिसे र किशोरसिंह राठौर दुई जना प्रतिस्पर्धामा छन् । मधेशीतर्फ एक सहमहामन्त्री पदमा रञ्जीत कर्ण, रामकृष्ण यादव र महेन्द्र यादवको उम्मेदवारी कायम छ । मुस्लिमतर्फ एक सहमहामन्त्री पदका लागि फरमुल्लाह मन्सुर र शेख वकीलको उम्मेदवारी छ ।

थारुतर्फ एक सहमहामन्त्री पदका लागि तेजुलाल चौधरी र उमाकान्त चौधरीको उम्मेदवारी छ । थारुतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएपछि दुई जनामात्र प्रतिस्पर्धामा छन् । पिछडिएको क्षेत्रबाट निर्वाचित हुने एक सहमहामन्त्री पदका लागि बद्रीप्रसाद पाण्डे, जीवनबहादुर शाही र चेतराज बजालको उम्मेदवारी पनि कायमै रहेको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । यसअघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । शनिबार उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।

भोट माग्न व्यस्त कांग्रेस नेता/कार्यकर्ता

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् । पार्टीको निर्वाचनस्थल बाहिर पद्यमोदय सडक तथा भृकुटीमण्डपभित्र आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन् ।

उनीहरु नेताको व्यानर,‘स्ट्याचु’ र श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन् । भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ । यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् । काठमाडौँका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन् । यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलमलगायका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् ।

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिएको छ । सभापतिका उम्मेदवार देउवा र डा कोइरालाले प्यानलै बनाएर उम्मेदवारी दिएको छ भने निधि, सिंह, गुरुङ र न्यौपानेले पूरा प्यानल बनाएका छैनन् । उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, दाबी विरोधउपर निर्णय र उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबारै गरिसकिएको छ ।

भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ०७:३४