सूचनाको शक्ति - The Power Of Information

        

योग समिति नेपालको अध्यक्षमा पुनः गिरीराज

बाँके । योग समिति नेपालको अध्यक्षमा पुनः योग गुरु गिरीराज भट्टराई चयन भएका छन् । शनिबार नेपालगन्जमा आयोजना गरिएको योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः भट्टराईको अध्यक्षमा सर्वसहमतिबाट १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमिति उपाध्यक्षद्धयमा लोकमाया सुवेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोइराला, सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन भएका छन् । निर्वाचिन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योतिप्रसाद पौडेल, झविलाल शर्मा र टंकनाथ पौडेले चयन भएका हुन् ।

यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भएका भएका छन् । निर्वाचन समितिमा तिवारीसँगै अरुणकुमार सिंह र मेघनाथ ढकाले जिम्मेवारी निभाएका थिए । यसैबीच अधिवेशनको उदघाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धिप्रकाश रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताए ।

‘योग आफैमा सबैका लागि अनिवार्य नै छ, जसले योग गर्ने बानी बनाउँछ उसका लागि शारीरीक सक्रियतामा फलदायी साबित हुन्छ,’ बरिष्ठ चिकित्सक रेग्मीले भने, ‘योग समिति नेपालले अरुलाई सहयोग गर्नका लागि कोष निर्माण गर्न आवश्यक छ ।’ कोष निर्माणका लागि पहिलो सहयोग रकम समाजसेवी निलबहादुर शाक्यले १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको सराहना गरे । उनले समितिको शुरुवाती चरणदेखि आफु जानकार रहेको र हरेक गतिबिधिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त भइरहेको र यसले समाजमा पुर्याएको योगदान उच्च रहेको बताए ।

उद्घाटन शत्रमा समितिका सल्लाहकार समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, सल्लाहकार तथा जनता समाजवादी पार्टी बाँकेका उपाध्यक्ष राजनबहादुर रानामगर लगायतले बोलेका थिए । साधारणसभाको अवसरमा कोरोनाबिरुद्धका योद्धाहरुलाई सम्मानित गरिएको छ । कोरोना महामारीका समयमा पनि समुदायस्तरमा जनचेतना फैलाउने योग समिति नेपालका कोरोनाबिरुद्ध लागेका एक दर्जन व्यक्तिहरुलाई प्रमाण तथा दोसल्लामार्फत सम्मानित गरिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार १७:००