सूचनाको शक्ति - The Power Of Information

        

माथिल्लो तामाकोसीमा आईपीओ विवाद


काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासनको विषयमा विवाद बढेपछि ढिलाइ हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले चैतभित्रै आब्हान निष्कासनका लागि आह्वान पत्र प्रकाशित गर्ने तयारी गरेपनि स्थानिय तहमा सेयर बाँडफाँडको विषयमा विवाद भएपछि ढिलाइ हुन पुगेको हो ।
अपर तामाकोसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले विवाद समाधान नभए अझ लम्बिन सक्ने बताएका छन् । उनले भने ‘सकेसम्म वैशाख अन्तिममा सेयर निष्कासन गर्ने छौ ।’ आयोजनाको सेयर वितरण खाका (मोडालिटी)विरुद्ध दोलखाका राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । सेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै आएका छन् ।
माथिल्लो तामाकोसी सरोकार समितिले यसअघि दोलखावासीका लागि छुट्याइएको १० प्रतिशत शेयर वितरण गर्नुपूर्व सेयर वितरण मोडालिटी सच्याएर मात्र सेयर बाँडफाँड गर्नुपर्ने सहित ७ बुँदे माग अघि सारेको थियो । समितिले सेयरको अधिकतम र न्युनतम मूल्यलाई ३ देखि ३० हजारबाट घटाएर ३ देखि १० हजार रुपैयाँ कायम गर्न, जिल्लावासीलाई वितरण गरेर बाँकी रहने शेष सेयरको सम्बन्धमा ग्यारेन्टी गर्न र आयोजनाको मुख्य प्रभावितमध्येको गौरीशंकर गाउँपालिका–९ मा तत्काल सडक पुर्याउनुपर्ने माग गरेको छ ।
अपर तामाकोसीले दोलखावासीका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेका बेला दोलखामा विवाद र आन्दोलन शुरु भएको हो । यता जिल्लाबासीलाई तीन वर्गमा बाँडेर सेयर दिने तयारी कम्पनीले गर्दा सहमति नहुँदा ढिलाइ हुने देखिएको हो । जिल्ला समन्वय समितिले आयोजनाबाट ‘क’, ‘ख’ र ‘ग’ गरी अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरेको छ । २०७१ सालमा जिल्ला विकास समितिले अध्ययनमा जिल्लाको जनसंख्या २ लाख ८२ हजार १२५ छ ।
जसमा अति प्रभावित ‘क’ वर्गमा ४ हजार ४३२, प्रभावित ‘ख’ वर्गमा ८१ हजार ९९९ र बाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६९४ छ । दामासायी वितरण गर्दा पनि अतिप्रभावितले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावितले ४६ कित्ता र बाँकी क्षेत्रकाले ३३ कित्ता सेयर पाउने अनुमान छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई १७.२८ प्रतिशत अर्थात करिब १ अर्ब ८९ करोड रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरिएको थियो ।
यता, सेयर वितरण ‘मोडालिटी’ सच्याउनुपर्ने माग गरेको अपर तामाकोसी सेयर सरोकार संयुक्त संघर्ष समितिले आफूहरुको माग पूरा नभएसम्म कडा आन्दोलन गर्ने जनाएको छ । संघर्ष समितिले सेयर वितरणमा दोलखावासीलाई विभेद नगरी अतिप्रभावित र प्रभावित गरी दुई तहमा मात्र वर्गीकरण गर्नुपर्ने, विदेशमा रहेका दोलखावासीलाई सहज रुपमा शेयर हाल्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने, रकम जुटाउन नसक्ने दोलखावासीलाई शेयर प्रमाणपत्र धितो राखेर शेयर हाल्ने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०२:१९