सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

यस्तो छ काँग्रेस महाधिवेशन उद्घाटन कार्यसूची

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ । दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ । उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए । उनले कोभिड–१९ का कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने बताए ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने भएको छ । भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित चार जना नेताहरू काठमाडौं आइपुगेको काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको छ । उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।

सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरीसाउण्ड सिष्टम राखिएको छ । महाधिवेशनस्थल चुनाव चिह्न रुख अङ्कित झण्डासँगै पार्टीको झण्डाले सिँगारिएको छ भने वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ ।

यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि महाधिवेशन सम्बन्धी आवश्यक विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ ।

सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ । सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका सिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ ।

सभापति पद बाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ । काँग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ ।

यसैगरी महाधिवेशन तयारीका लागि विहीबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महामन्त्रीको प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

बैठकले १४ औँ महाधिवेशन तयारीका क्रममा केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यस्तै ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०७:४७