सूचनाको शक्ति - The Power Of Information

        

नेपाली कांग्रेसको १४औं महाधिवेशन

आकांक्षी धेरै हुँदा उम्मेदवारीमै अलमल

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४औं महाधिवेशन सुरु हुँदैछ । काठमाडौंको भृकृटीमण्डपमा तयार मञ्चमा दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका छ ।

तर यो खबर तयार हुँदासम्म पनि कांग्रेसका नेताहरूले पार्टी प्रमुख (सभापति)कै उम्मेदवारी निश्चित गर्न सकेका छैनन् । साथै अन्य पदाधिकारीमा उठ्ने उम्मेदवार तोक्न पनि बाँकी नै छ ।

संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि पनि पुनः सभापति पदमा उम्मेदवारी दिने निश्चित भए पनि विभिन्न नेता तथा समूहका अन्यले पनि यसमा प्रतिस्पर्धा गर्ने बताइरहेका छन् ।

यस्तै अन्य पदाधिकारीमा पनि धेरै जना आकांक्षी देखिएका छन् । संस्थापनइतर समूहले पनि सभापति पदमा एउटै उम्मेदवार तोक्न सकेको छैन ।

पदाधिकारी उम्मेदवारीमा सहमति गर्न भनेर बिहीबार सभापति देउवाले राखेको कांग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी नभएपछि त्यसबारे निर्णय हुन सकेन ।

उता पौडेल पक्षमा पनि प्रकाशमान सिंह र डा.शेखर कोइरालाले सभापति पदमा उम्मेदवारी दिने अडान लिइरहेका छन् । सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेता सिंहले आज उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

कोइराला र सिंहबीच सहमति भए आफू पछि हट्ने बताइरहेका वरिष्ठ नेता पौडेल उनीहरू दुवै सभापतिमा उठ्ने अडानमा रहेपछि अप्ठेरोमा परेका छन् ।

यसरी पौडेल पक्षमा फाटो देखिएको अवस्थाको उपयोग गर्दै सभापति देउवा भने पुनः पार्टीको नेतृत्व हत्याउने रणनीतिमा लागेका छन् । उम्मेदवारीका विषयमा अहिलेसम्म निर्णय नदिएको कृष्ण सिटौला पक्षलाई समेटेर देउवा सभापति पदमा विजयी हुने दाउमा छन् ।

सिटौला समूहले बिहीबार आफ्नो भेला गरे पनि महाधिवेशनमा कता लाग्ने भन्ने स्पष्ट पारेन । बरु नेता सिटौलाले भोलि शनिबार उम्मेदवारी दर्ता हुनुअघि मात्र आफ्नो निर्णय सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०७:३५