सूचनाको शक्ति - The Power Of Information

        

ढिलो गरि धान खरिद गरिदै

खाद्यले बाँकेमा मंसिर २६ गतेदेखि धान खरिद गर्दै, भिजेका नल्याउन आग्रह

२५ हजार क्विन्टल धान खरिद गर्ने

फाइल तस्वीर

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ।

यही मंसिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए।

गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको हो।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको छ। सरकारले भदौमै धानको समर्थन मूल्य तोके पनि दशैंपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ।

बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ। कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ।

आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १७:४९