बाँके । अहिले देशभर लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । सहरमा मात्र होइन, गाउँ गाउँमा समेत शिक्षित महिलाहरुले लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु चलाइहेका छन् ।
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला बाँके खजुरा गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी भने गाउँपालिकाकै दुई उच्च तहका कर्मचारीबाट यौन दुर्व्यवहारमा परेकी छिन् । घटना गत शुक्रबार रातीको भएपनि बुधबार बिहान मात्र सार्वजनिक भएको हो ।
कैलालीको टिकापुरमा पिकनिक (वनभोज) खान गएको बेला महिला कर्मचारीमाथि दुई उच्च तहका कर्मचारीहरुले यौन दुर्व्यवहार गरेको भन्दै खजुराका युवाहरुले बुधबार गाउँपालिकाको कार्यालय घेराउ गरेपछि घटना सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले घटनाबारे प्रहरीलाई बुधबार मात्र थाहा भएको जानकारी दिए । महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लाग्नेहरुमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनार रहेका छन् ।
आरोपित दुबै जनालाई बुधबार नै ईलाका प्रहरी कार्यालय धनौनीले पक्राउ गरिसकेको डीएसपी न्यौपानेले बताए । ‘गाउँपालिकाबाट सुरक्षाको लागि माग आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । ‘के कारणले घेराउ गरिएको हो भन्नेबारे बुझ्दामात्र घटनाबारे प्रहरीले थाहा पायो,’ उनले भने, ‘त्यसपछि महिला कर्मचारीसँग सम्पर्क गरेर घटनाबारे बुझेर दुबै जनालाई नियन्त्रणमा लिएका हौं ।’
प्रहरीमा पीडित महिलाले मौखिक उजुरी दिए पनि लिखित रुपमा भने उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पीडित महिलाले लिखित उजुरी ल्याउने भनेपनि उजुरी भने ल्याएर नआएको बाँके प्रहरीका प्रवक्ता डीएसपी न्यौपानेले बताए । ‘उहाँ (पीडित) लिखित उजुरी लेखाएर ल्याउँछु भनेर जानुभएको हो,’ उनले भने, ‘महिला आफैं शिक्षित हुनुहुन्छ । उजुरी आएपछि अनुसन्धान अगाडि बढाउँछौं ।’
उता प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफुमाथि लागेको आरोपमा सत्यता नभएको जिकिर गरेका छन् । ‘हामीमाथि निराधार आरोप लगाइएको हो, यो आरोपमा कत्तिपनि सत्यता छैन,’ उनीहरुले भने ।
यसरी भएको थियो यौन दुर्व्यवहार
पिकनिक खान जाने पूर्व योजनाअनुसार गाउँपालिका ५१ जना कर्मचारीहरु शुक्रबार बिहान १०–११ बजेतिर खजुराबाट टिकापुरको लागि प्रस्थान गरे । टिकापुर पार्कमा पुगेर उनीहरुले दिनभर खानपिनका साथै नाचगान गरेर रमाइलो गरेका थिए । पिकनिकमा कतिपय महिला र पुरुष कर्मचारीहरुले मदिरासमेत सेवन गरेको एक कर्मचारीले जानकारी दिए ।
पिकनिक खान टिकापुर पुगेका कर्मचारी शुक्रबार राती खजुरा फर्किएनन् । उनीहरुले टिकापुरमै रात बिताएका थिए । सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको बताइएको छ । महिला कर्मचारी बसेकै कोठामा पुगेर सुरुमा शुक्रबार राती लेखा अधिकृत सुनारले यौन दुर्व्यवहार गरेका थिए ।
त्यसको केही समयपछि प्रमुख प्रशासकीय अधिकृत खरालले यौन दुर्व्यवहार गरेका हुन् । एक कर्मचारीका अनुसार तीनै जनाले मदिरा पिएका थिए । ‘जे गरे पनि त्यही दिनको मदिराले गर्यो’ ती कर्मचारीले भने, ‘त्यहाँ त त्यस्तो केही कुरा सुनिएन यहाँ आएर मात्र यौन दुर्व्यवहार गरेको भन्ने कुरो आयो । जे भएपनि मदिराले नै गर्यो ।’
कारबाहीको माग
महिला कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई कारबाहीको माग गर्दै युवाहरुले खजुरा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । बुधबार बिहान गाउँपालिकाको कार्यालयमा पुगेका स्थानीय युवाहरुले प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारलाई कारबाहीको माग गर्दै घेराउ गरेका हुन् । युवाहरुको समूहले यौन दुर्व्यवहारको आरोप लागेका खराललाई कार्यकक्षमै पुगेर हातपात गर्न खोजेपछि ईलाका प्रहरी कार्यालय धनौलीबाट ठूलो संख्या प्रहरी पुगेको थियो ।
युवाहरुले कारबाहीको माग गर्दै गाउँपालिकाविरुद्ध चर्का नाराबाजी गरेका थिए । यौन दुर्व्यवहार गर्ने दुबै जनालाई जोगाउन खोजेको भन्दै युवाहरुले गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत खराललाई हातपात समेत गरेका थिए । पछि प्रहरीले उनीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धनौलीमा लगेको थियो ।
कुटपिट घटनाको भत्र्सना
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई युवाहरुले गरेको दुर्व्यवहारप्रति गाउँपालिकाका कर्मचारीहरुले भत्र्सना गरेका छन् । यौन दुर्व्यवहारको आरोप लागेका उनीलाई युवाहरुको समूहले बुधबार कार्यालयमै हातपातका साथै दुर्व्यवहार गरेको थियो ।
गाउँपालिकाका कर्मचारीहरुले बुधबार एक प्रेस विज्ञप्ती जारी गरेर कुटपिट गर्ने दोषीलाई यथाशिघ्र कडा कारबाही गर्न ध्यानआकर्षण गराएका हुन् । उनीहरुलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि नबढाए आजदेखि सम्पूर्ण वडा कार्यालयहरु, शाखा कार्यालयहरु तथा गाउँकार्यपालिकाको कार्यालयको कामकाज ठप्प पार्ने कर्मचारीहरुले चेतावनी दिएका छन् । (मिसनटुडे)
।