सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा ‘छोरीबुहारी छात्रवृत्ति’

कात्तिक । कर्णाली प्रदेश सरकारले छोरीबुहारीको शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । प्रदेश सरकारले व्यावसायिक तथा प्राविधिक शिक्षा अध्ययनका लागि प्रदेशका छोरीबुहारीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो ।

आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेश सरकारले छोरीबुहारीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । शिक्षा विकास निर्देशनालयका अनुसार तीन वर्षीय डिप्लोमा अध्ययन गर्नका लागि पछिल्लो तीन वर्षको अवधिमा ३९९ जना छोरीबुहारीले छात्रवृत्ति पाएको जनाइएको छ ।

प्रदेश सरकारले छात्रवृत्तिका लागि छनोट भएकालाई एक पटक मात्र सम्बन्धित विषयको खर्चको प्रकृति हेरेर एक जनालाई एक लाखभन्दा कम उपलब्ध गराउने गरेको छ । छोरीबुहारीले नर्सिङ, फार्मेसी, एचए, ल्याब, कृषि, इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति पाउँदै आएका छन् ।

छात्रवृत्तिमा छनोट हुनका लागि सरकारी विद्यालयबाट एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै स्थानीय तहले छात्रवृत्ति पाउने छोरीबुहारी कर्णाली प्रदेशभित्रको बासिन्दा भएको सिफारिससहित निवेदन दिनुपर्ने र कुनै पनि सरकारी छात्रवृत्ति नपाएको हुनुपर्ने मापदण्ड राखेका छन् ।

सामाजिक विकास मन्त्रालय, सामाजिक सुरक्षा तथा महिला विकास महाशाखा प्रमुख अनिता ज्ञवालीले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन र छोरीबुहारीको सशक्तीकरणका लागि सरकारले छात्रवृत्तिमा छोरीबुहारीहरू पढाउन थालेको बताइन् । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा छोरीबुहारीको शिक्षामा जोड दिँदै आएको उनको भनाइ छ ।

महिला सशक्तीकरण, उनीहरूको शिक्षा र रोजगारीलाई जोड दिएर कार्यक्रम ल्याइएको जनाइएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीबुहारी यस कार्यक्रमबाट लाभान्वित भएको प्रमुख ज्ञवालीको भनाइ छ । उनले छोरी र बुहारीमा हुने विभेद पनि यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गरिन् ।

‘अहिले पनि हाम्रो समाजमा छोरी र बुहारीमाथि विभेद छ । परिवारमा पहिले छोरा, दोस्रोमा छोरी र तेस्रोमा बुहारीलाई प्राथमिकता दिइन्छ । बुहारी पनि छोरीसरह हो । बिहे गरेर गएपछि छोरीजस्तै बुहारी पनि हो भनेर सबै परिवारमा चेतना आउन जरुरी छ,’ प्रमुख ज्ञवालीले भनिन् ।

उनले छोरी र बुहारी सँगसँगै अघि बढ्न सहयोग पुगोस् भन्ने उद्देश्यले महिला सशक्तीकरण, शिक्षा र रोजगारीलाई जोडेर कार्यक्रम ल्याएको जनाउँदै पछिल्लो समय यो कार्यक्रम प्रभावकारी बन्दै गएको बताइन् ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १२:१६