सूचनाको शक्ति - The Power Of Information

        

२४ घण्टामा ३ सय १५ जनामा काेराेना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार आठ सय १० जनाको नमुना परीक्षण गरिएकाे थियाे । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ ।

यस्तै थप तीन सय चार जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार दुई सय पाँच पुगेको छ । निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै यही अवधिमा कोरोनाबाट थप दुई जनाको ज्यान गएकाे छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख २७ हजार सात सय ५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड पाँच लाख चार हजार सात सय ६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार चार सय ३३ जनाले लगाएका मन्त्रालयले जनाएकाे छ ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाण्डाै र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् ।  अहिले होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा तीन सय ३९, आईसीयूमा एक सय २३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:५७