सूचनाको शक्ति - The Power Of Information

        

प्रदूषणले गाँजेझैँ न्याय प्रणाली

सिंहदरबारलाई जिस्क्याउँदै मण्डलाको न्याय

काठमाडौं । राजन सेख बाँकेदेखि काठमाडौंको माइतीघर मण्डला आएको १३ दिन भयो । मण्डलामा हुने अन्य समूहको विरोधका चर्का नारा त छँदैछन्, गाडीको कर्कश ध्वनी र कालो धुवाँ अनि सरकारको कालो मनले उनीहरुको मुहार थकित, मलिन देखिन्छ । उपत्यकालाई प्रदूषणले गाँजेझैँ यहाँको न्याय प्रणाली तथा सरकारको रवैयामा पनि प्रदूषण देख्छन् सेख ।

‘हेर्नुस त ! धर्ना दिनेहरु उठ्न सकेका छैनन्, सरकार भने ठडिएको ठडियै छ,’ नजिकै लौरो बोकेर बसेका प्रहरी र लम्पसार परिरहेका धर्नामा रहेका आफ्ना साथीहरुलाई देखाउँदै सेखले भने । माइतीघर मण्डला सामुन्नेको सानो आइल्यान्डमा एकातिरको डोरी सडकको खम्बा तथा अर्कोतिरको डोरी रुखमा बाँधिएको अवस्थामा फ्लेक्स प्रिन्ट झुण्डिएको छ ।

विधवा महिला निर्मला कुर्मीको अपहरण र हत्या साथै घरेलु हिंसा पीडित महिला नन्कुन्नी देवीको हत्यामा न्याय चाहियो भन्ने उनीहरुको प्रमुख माग छ । यसै विषय उल्लेख छ फ्लेक्समा । फ्लेक्सको अलि वर बाँकेका १६ जनाको समूह अनिश्चितकालीन धर्ना तथा रिले अनसनमा छ । सँगै जोडिएको सडकमा प्रहरीको भ्यान तयारी अवस्थामा छ । केही जवान प्रहरी पनि देखिन्छन् सडकमा ।

यसै सडकमा प्रधानन्यायाधीशको बहिर्गमन, न्यायाधीश इजलाशमा नबसे राजीनामादेखि अध्यादेश र सरकारका कदमका उग्र विरोध हुन्छ । गाडीमा रहेको माइकले कर्कश आवाज निकाली रहेकै हुन्छ । बाजागाजादेखि शङ्खध्वनी पनि सुनिन्छ । तर, यी सबै चर्का आवाज र नाराले सँगै रहेको यस समूहको आवाज भने विलीन भइरहेको छ । सडकमा बेलाबेला प्रहरी तथा प्रदर्शनकारीबीच झडपसमेत हुन्छ ।

त्यसबेला यी धर्नामा रहेकाहरुलाई भने कहाँ जाउँ र कता भागौँ हुन्छ । बाँकेको रापले रापिएकालाई काठमाडौंको ठिहीले सताएकै छ । समस्यामा रहेका उनीहरुलाई खुला आकास अनि भोको पेटले पोलेको छ । सम्पत्तिको लागि निर्मला कुर्मीको अपहरण, शरीर बन्धकपछि भएको हत्यामा सरकार उदासिन रहेपछि न्यायका लागि उनीहरु नेपालगन्जदेखि हिँडेरै काठमाडौंसम्म आएका हुन् ।

यो एथलेटिक्समा उनीहरुले २० दिन लगाएर ५२० किलोमिटर पैदल यात्रा गरेका थिए । गोडामा उठेका फोका, घाउ अनि घाउमाथिको मल्हमपट्टीको यहाँ हिसाब छैन । मल्हमपट्टी लगाएर थोरै मत्थर भएको अघिल्लो घाउमा फेरि पछिल्ला रिले अनसनका दिन थपिँदा घाउ बल्झिने चिन्ताले सताएको छ उनीहरुलाई ।

‘दुई महिलाको हत्या भएको घटना सम्बन्धमा छानबिन तथा दोषीमाथि कारबाहीका लागि हामीले बाँकेको सीडीओ अफिसमा पनि ९ दिन धर्ना दियौँ । तर, न्याय नपाएपछि यहाँ आएका हौँ’ हातमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो भएको ‘कि न्याय देव सरकार । कि प्राण लेव सरकार’ भन्ने पर्चा देखाउँदै राजन सेखले भने ।

देश गणतन्त्र तथा सङ्घीयतामा गइसकेपछि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा एकदमै घन्काइयो । तर, नागरिक भने न्याय माग्न दूरदराजबाट फेरि सिंहदरबार नै आउनुपरेको छ । सिंहदरबार अगाडि लम्पसार पर्दा पनि नागरिकले न्याय पाउन सकेका छैनन् ।

‘गाउँ गाउँमे कुछ नहीँ पहुँच गवा है । खाली मुंहसे कहावत है बस । कुछ नहीं गवा है । ना कोही पुछे जावत है । ना कुछ ना कुछ । खाली सरकार उल्लु बनावत है गाउँ गाउँमे सिंहदरबार पहुँच गया है । कुछ नहीँ भवा है’ झुस्स दारी र खोबिल्टो परेको गालाबीचबाट आक्रोशित स्वरमा सेखले भने ।

‘देशमा १५० पार्टी छ भन्छन् तर, यहाँ भने कुनै पार्टी आएका छैनन् । खाने, बस्ने व्यवस्था नागरिक समाजले गरेको छ’ यसो भन्दै गर्दा सेखको खिन्नता झल्किन्थ्यो । ‘दुईके महिलाको हत्या भयो वहीके न्याय माग्नको लागि,’ अनसनरत शहिना खातुन भन्छिन्, ‘बाँकेमे न्याय नहीँ मिला है । बाँकेसे बीस दिन पैदल यात्रा करके भुखन, प्यासन मरकर तब यहाँ आगर त ।’

यहाँ आएर अनशन बसेपछि उहाँहरुलाई सरकारले न्याय दिने तथा दोषीमाथि कारबाही गर्ने आश्वासन पनि दिएको थियो । तर, सरकारले वाचा पूरा गरेन । ‘तब सरकारने लिखतमे दिए थे हम लोगोँ को न्याय दिया जइ । दोषी लागोको पकडकर अन्दर कराजइ,’ खातुनले टाउकोको सल सम्हाल्दै भनिन्, ‘सरकारके बात मानकर हम वापस चलाजइ । लेकिन न्याय नहीँ दिया । हम लोग फिर आवेका है ।’ निर्मला कुर्मी तथा नकुन्नी धोवीको हत्या सन्दर्भमा सरकारले छानबिन समिति समेत गठन गरेको थियो ।

समितिले आफ्नो प्रतिवेदन सरकारलाई पेस पनि गरिसकेको छ । तर, सरकारले प्रतिवेदन सार्वजनिक पनि गरेन अनि प्रतिवेदनमा दोषी उल्लेख गरिएका व्यक्तिलाई कारबाहीको साटो झन् जमानीमा छोडिदियो भन्ने अनसनकर्मीको आरोप छ । यसै घटनालाई लिएर अभियानकर्मी रुबी खान अनसनमा बस्नु भएको थियो । त्यसबेला खान र सरकारबीच छानबिन समिति बनाउने र दोषीमाथि कारबाही हुने भन्ने सम्झौता भएको थियो ।

आन्दोलनकारीलाई सहयोग गर्न बसिरहेका बृहत् नागरिक अन्दोलनका नीर्घ नवीन भन्छन्, ‘रुबी खान र सरकारबीच भएको सम्झौताको अक्षरशः पालना भएन । त्यसकारण पीडितहरुसहित उनीहरु आन्दोलनको लागि यहाँ आएका हुन् । उहाँहरुलाई सहयोग गर्न हामी यहाँ सहभागी भएका हौँ ।’ आन्दोलनमा सहभागी भएकाहरुलाई विभिन्न वकिल, नेता तथा खानपिन, बसाइँ र अन्य आर्थिक पक्षमा बृहत् नागरिक आन्दोलनले सहयोग गर्दै आइरहेको छ । ‘उहाँहरुको लागि यो नयाँ भूगोल हो ।

त्यसकारण कतै जानेदेखि बस्नेसम्मका लागि हामीले सहयोग गर्दै आएका छौँ,’ नवीनले भने । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन अगाडि बढाउँछौँ भनेर सरकारले भनेको छ । तर, पीडितको ठोस माग भने सबै प्रमाणहरु नष्ट भइसके अब त्यहाँको प्रहरी प्रशासनले सक्दैन । त्यसकारण सीआइबी नखटाइ र नयाँ ढङ्गले अनुसन्धान नगरी पीडितले न्याय पाउँदैनन् भन्ने आन्दोलनमा सहभागीको माग रहेको पनि नवीनले बताए ।

गृह मन्त्रालयको उपसचिवको नेतृत्वमा आन्दोलनकारीका तर्फबाट एक जना प्रतिनिधिसमेत रहेको छानबिन समितिले प्रतिवेदन तयार गरिसकेको छ । तर, छानबिन समितिले दोषी ठहर्याएका व्यक्तिलाई कारबाही नगरि सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छोडेकोले अभियुक्तमाथि कारबाहीको माग गर्दै अहिले मण्डलामा अनसन चलिरहेको अवस्था छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस घटनाका सन्दर्भमा आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गरिसकेकाले यो सरकारको प्राथमिकतामा परेको बताए । ‘यो विषय त्यहीँ समाधान हुनुपर्ने विषय थियो । तर, उहाँहरु यहाँसम्म आइपुग्नु दुःखद कुरा हो,’ शर्माले भने, ‘अहिले स्थानीय निकाय छ, स्थानीय सरकार छ । यो विषय त्यहीँ हल हुनुपर्नेमा केन्द्रसम्म आइपुग्नु दुःखद रहेको तथा चाँडै नै सरकारले निकास निकाल्नेछ ।’ (उज्यालोबाट)

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:२४