सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीको कांग्रेस सभापतिमा अमरसिंह पुन विजयी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् ।

उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् ।

सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए । पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याइ विजयी भएका छन् ।

खनाल भने  संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७७२ र सुधाकर पाण्डेले ६६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।महामन्त्रीमा विक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले ८३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

दुवैजना पौडेल निकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् ।

शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार ०८:५१