सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा

विद्यालयमा दिवा खाजा पुनः सुरु, बढ्दै विद्यार्थीको उपस्थिति

फाइल तस्वीर

बाँके । नेपालगन्जका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा रोकिएको खाजा कार्यक्रम नेपालगन्जका विद्यालयमा पुनः सुरु गरिएको हो ।

उपमहानगरका अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएपछि विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । बीचमै कक्षा छोड्ने विद्यार्थीमा कमी आउन थालेको विद्यालयहरूले जनाएका छन् ।

नेपालगन्ज–२०, थपुवाको जयजनता माध्यामिक विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले खाजा कार्यक्रम लागू भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति बढेको बताए । उनीहरूको पढाइमा समेत सुधार हुने अपेक्षा उनले व्यक्त गरे ।

खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समितिले स्थानीय रूपमा पाइने अर्गानिक पौष्टिक आहारको साप्ताहिक रूपमा खुवाइने तालिका बनाएको विद्यालयहरूले जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका ४२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको छ । दिवा खाजा कार्यक्रमको प्रभावकारिताका लागि नियमित रूपमा अनुगमन गरिरहेको उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत लोकेन्द्र शाहीले बताए ।

सरकारले देशभरिका सामुदायिक विद्यालयमा सुरु गरेको दिवा खाजा कार्यक्रम बाँकेमा गत फागुनदेखि सञ्चालन भएको थियो । कार्यक्रमबाट मदरसामा पनि विद्यार्थी बढेको स्थानीय बरकातिया मदरसाका प्रधानाध्यापक जियाउल मुस्तफाले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०९:१५