काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ । जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ ।
नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आफ्ना नागरिलाई अनुरोधसमेत गरिसकेको छ । अन्य देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
नयाँ भेरियन्टको जोखिमबारे विश्वभर चासो बढीरहेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनले यो भेरियन्ट निकै जोखिम र निरन्तर रहने बताए । उनले भने, ‘भारतमा पनि यो भेरियन्ट फेला परिसकेकाले हामी सचेत भएर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पूर्णरुपमा पालना गर्नुपर्ने जरुरी छ ।’
उनले जोखिम छ भन्दैमा धेरै आत्तिने, तर्सिने गर्न नहुने बताए । डा.पुनले भने, ‘दक्षिण अफ्रिकी चिकित्सकहरुको अनुभव सुन्दा धेरै कडा देखिएको छैन कि भन्ने पनि छ । इजरायल, भारत लगायतका मुलुकमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको अवस्था पनि सामान्य नै भएको सुनिन्छ । यद्दपी यो प्रारम्भीक अवस्था भएकाले धेरै कुरा पछि थाहा होला ।’
अहिले धेरै कुरा जानकारीमा नआएको र प्रारम्भीक अवस्थालाई हेर्दा तर्सिनुपर्ने अवस्था नरहेको डा.पुनले बताए । उनले भने ‘संक्रमण हुनसक्छ कि भनेर होसियारीपूर्वक सतर्कता अपनाउनै पर्छ । आगामी दिनमा नयाँ भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ त्यसैको आधारमा भन्न सकिन्छ । उपायहरु पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ ।’
उनका अनुसार सीमा नाकाहरुबाट बढी जोखिम रहेको छ । यसमध्ये अझ बढी जोखिम नेपाल–भारत सीमाका कारण चुनौती रहेको उनले बताए । उनले भने, ‘योभन्दा अघिल्लो भेरियन्टहरु पनि धेरै प्रयासका बावजुद सीमाबाट भित्रिएको छ । भारतमा देखिएकाले अहिले हामी सीमा नाकाबाटै बढी जोखिममा छौं ।’
उनले नेपाली र भारतीयहरु सजिलै आउजाउ गर्न सक्ने भएकाले भारतीय सीमाबाट बढी जोखिम रहेको बताए । डा.पुनले भने, ‘यदि भारतमा तीव्र गतिमा फैलन थाल्यो भने त हाम्रो नेपाली भारतीयहरु सजिलै आउजाउ गर्नेछ । तोकिएकै नाकाबाट आउजाउ हुन्छ भन्ने पनि छैन । यसले नेपालमा पनि यसको जोखिम उच्च छ ।’
उनले सरकारी तवरबाटै विगतको कमजोरीहरुको समीक्षा गरेर दीर्घकालीन उपाय र योजनाहरु बताउनुपर्नेमा जोड दिए । ‘किनभने अहिले नै यो रोकिनेवाला छैन । विभिन्न उपाय तथा योजनाले नै धेरै हदसम्म नियन्त्रण गर्न सम्भव हुन्छ,’ उनले भने । अहिलेको नयाँ भेरियन्टको बारेमा धेरै कुरा बाहिर नआएको पनि बताए ।
डा.पुनले नेपाल लगायत कतिपय देशहरुले ६० वर्षभन्दा माथिकालाई जथाभावी नहिँड्नु भनेकोले कुन उमेर समूह अथवा स्वास्थ्य अवस्था कस्तो भएकालाई जोखिम छ भन्ने चाहिँ यकीन तथ्यांक नआएको पनि बताए । ‘यही उमेर समूह अथवा यस्तो स्वास्थ्य अवस्था भएकालाई जोखिम छ भन्नु चाहिँ अलि हतार हुन्छ,’ डा.प्नले भने ।
तर अहिले समाचारहरुको आधारमा युवामा पनि संक्रमण भएको तथ्यहरु आइरहेको उनले बताए । तर सामान्य भाषामा ज्येष्ठ नागरिकहरु शारीरिक रुपमा कमजोर र दीर्घरोगी हुने भएकोले संक्रमणले त्यस्तै व्यक्तिहरुलाई च्याप्ने भएकाले जोखिम हुने पनि उनले बताउँदै भने, ‘यही उमेर समूह एकीन नभए पनि कमजोर व्यक्ति संक्रमणबाट बच्नुपर्छ ।’
अहिले कोरोना संक्रमण दर कम हुँदै गइरहेकाले सभा–सम्मेलन शुरु भएको छ । नयाँ भेरियन्टको जोखिम देखिएको बेला कोरोना संक्रमणको गति ओरालो लागेको छ । संक्रमण दर ओरालो लागेकै कारण मानिसहरुमा केही नहोला भन्ने बुझाइ बढ्दै गइरहेको छ । जसले गर्दा जनस्वास्थ्य मापदण्डहरु पनि अपनाउन कम हुँदै गएको छ ।
त्यस्तै विभिन्न राजनीतिक सभा, सम्मेलनहरु पनि सामान्य समय जसरी भइरहेको देखिन्छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पनि सही तरिकाले अपनाएको देखिँदैन । ‘यी सबै जोखिमका कारकहरु हुन् । यसले समस्याहरु निम्तिन सक्छ । निक्कै चुनौती थपिएको छ,’ डा.पुनले भने, ‘खोप लगाए पनि संक्रमित हुनसक्छ र अरुलाई पनि सार्न सक्छ । यसैमा ध्यान दिनुपर्छ ।’
नेपालमा अझै धेरै मान्छेले खोप लगाउन बाँकी रहेका छन् । खोप लगाउने वित्तिकै एन्टीबडी बन्छ भन्ने पनि छैन । खोप लगाएको ६÷७ महिना पार गर्दै गर्दा एन्टीबडीको स्तर पनि खस्किँदै गएको हुनसक्छ । ओमिक्रोन नआएता पनि हामीले खोप लगाएकाले पनि विशेष ध्यान किन दिनुपर्छ भने धेरैले खोप लगाउन बाँकी छ ।
खोप लगाउन वित्तिकै सतप्रतिशत शरीरमा एन्टीबडी बन्छ भन्ने जरुरी छैन । हामीले लगाएका खोपहरुको अवधि बढ्दै जाँदा एन्टीबडी कम हुँदै जान्छ भन्ने कुराहरु पछिल्लो अनुसन्धानहरुले देखाइरहेको छ । त्यसैले पनि खोप लगाए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपले अपनाउनुपर्छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण हुनसक्छ ।
डा.पुनले भने, ‘हामीले ‘ब्रेक थ्रु केश’ भन्छौं त्यो व्यक्तिले खोप नलगाएकालाई सार्न सक्ने सम्भावना रह्यो । खोप लगाउँदा लगाउँदै पनि एन्टीबडी नबन्ने समूहमा पर्न पनि सक्छ । त्यसैको आधारमा अमेरिकामा बुस्टर डोजको पनि सुरुवाती भइसकेको अवस्था छ । वेवास्ता गर्ने अवस्था छैन । यसमा सावधानी अपनाउनै पर्छ ।’
अर्को कुरा खोपले कामै नगर्ने भन्ने पनि होइन । डेल्टा भेरियन्ट आउँदा पनि खोपले काम गर्दैन कि भन्ने आशंका गरिएको थियो तर म स्वयं इमरजेन्सीमा बसेर आएका विरामीहरुको अवस्था बुझ्दा खोप नलगाएकाहरु भर्ना भएका थिए । त्यसको मतलब खोप लगाएकाहरुलाई जटिल अवस्था आएको भेटिन । त्यो भएको प्रभावकारीता नहुने भन्दा पनि खस्किन सक्ने सम्भावना छ ।
स्वास्थ्य सुरक्षाका उपायहरु उही हो । खाली यसले खोपलाई छल्ने क्षमता विकास ग¥यो किन गरेन अरु संक्रामक भयो अथवा घातक भयो कि भन्ने चासो हुन्छ । तर बच्ने उपायहरु त एउटै हो । हामीले डेल्टा भेरियन्ट अथवा त्योभन्दा अगाडि संक्रमणबाट बच्न जुन उपाय अपनाएका थियौं, त्यसलाई निरन्तरता दिनुपर्छ ।
।