सूचनाको शक्ति - The Power Of Information

        

समाचार

निःशुल्क साइकलले छात्रालाई प्रोत्साहन

बाँके । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका पाँच सयभन्दा बढी छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ ।

बाँकेकै सबैभन्दा पिछडिएको मानिने उक्त गाउँपालिकामा कक्षा बढ्दै जाँदा छात्राहरूले विद्यालय छोड्ने क्रम बढेपछि गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका छात्रालाई विद्यालयसँग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा निःशुल्क साइकल वितरण गरेको हो ।

गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका तीन माध्यमिक विद्यालय र एक आधारभूत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५०२ जना छात्रालाई साइकल वितरण गरेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

उनले नरैनापुरमा रहेका सामुदायिक विद्यालयमध्ये तीनवटा मावि तह, एक आधारभूत तह र ४२ वटा प्रावि तहका रहेकाले अधिकांश कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बहाना बनाउँदै कक्षा छाड्ने गरेको जनगुनासो आएपछि उनीहरूलाई टिकाइराख्न साइकल वितरण गरिएको बताए ।

सो अवसरमा लुम्बिनी प्रदेश सभाका सांसद कृष्णा केसी नमुनाले नरैनापुरको विकासका लागि छात्राको पहुँच विद्यालयसम्म पु¥याउन आवश्यक भएकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरण गरिएको बताइन् ।

नरैनापुर हरेक क्षेत्रबाट पछाडि पारिएको पालिका भएकोले प्रदेश सरकारले यहाँको शैक्षिक क्षेत्रको विकासमा टेवा पु¥याउने र छात्राहरूको विद्यालयसम्मको पहुँच बढाउने उद्देश्यले उनीहरूलाई विद्यालय आउन र जानका लागि सहज होस् भनेर साइकल उपलब्ध गराइएको प्रदेश सभाका सांसद नमुनाले बताइन् ।

गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि माथिका सबै छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोले शैक्षिक अवस्थामा सुधार आएको बताए ।

उनले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पु¥याउन छात्रवृत्तिदेखि निःशुल्क साइकल वितरण गरिएको जनाए । उक्त कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउँपालिकाको सहकार्यमा ५० लाख बजेट खर्च गरिएको पालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार १७:३८