सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

माधव नेपालहरुलाई कारवाही नगरेसम्म संसद चल्न दिदैनौंः ओली

आन्दोलनबाट अदालतको समस्या समाधान नहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने बताएका छन् ।

दोस्रो पटक अध्यक्षको लागि पदबहाली गर्ने क्रममा बोल्दै उनले एमालेले निष्काशन गरेका सांसदहरु संसदमा रहेसम्म बैठक चल्न नदिने बताएका हुन् ।

सरकारले मंसिर २८ गतेबाट संसद अधिवेशन बोलाएको छ। आफूले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद् चलाइरहेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्ति संसदभित्र राखेर संसद चलाउने ? हामीले पार्टीबाट साउन २५ गते निष्कासन गरेका व्यक्ति असार ५ गते आउँछन् भने स्वीकार्य हुँदैन।’

सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध अनुचित गठबन्धन गरेको उनको भनाइ छ। ‘सभामुखजी अनुचित गठबन्धन गरेर लाग्नुभएको छ। एमाले विरुद्ध लाग्नुभयो। अवैध ढंगले पार्टी फुटाउन लाग्‍नुभयो,’ ओलीले भने ।

एमालेको अवरोधकै बीच वर्खे अधिवेशन अन्त्य गरिएको थियो। उनले कार्यपालिकासमेत सही ढंगले नचलेको बताए।

‘अहिले सर्वोच्च अदालत, नेपाल बार एशोसिएसन, सर्वोच्च बार आदिमा देख्न सक्छौं कस्तो छ स्थिति भनेर । एउटा लफडाको स्थिति सिर्जना गरिएको छ’ ओलीले भने, ‘न अगाडि न पछाडि हट्न सक्ने न वास्तविक सुधारको नीति लिन सक्ने ।’

अहिलेको आन्दोलनबाट अदालतको समस्या समाधान नहुने पनि ओलीले बताए । प्रधानन्यायाधीशको राजीनामा वा महाभियोग माग भइरहेका बेला ओलीले यो तरिकाबाट अदालतको समस्या समाधान नहुने पनि जिकिर गरे ।

‘केही महाअभियोग लगाउनुपर्छ भन्छन्, कोही लगाउनुहुँदैन भन्छन्, यो खालको स्थितिमा उहाँहरु (पाँच दलीय गठबन्धन) हुनुहुन्छ । अदालतको हुर्मत लिने काम गरिरहनुभएको छ’ ओली भन्छन्, ‘त्यसको त्यसको उपचार के हो ? भन्दा फेरि गलत प्रेसक्रिप्सन । अहिलेको प्रेसक्रिप्सन भनेको यो गलत प्रेसकिप्सन हो । जुन प्रेसक्रिप्सनले कुनै काम गर्दैन ।’

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १७:५१