सूचनाको शक्ति - The Power Of Information

        

दुर्व्यसनीको कुलत छुटाउँदै पूर्वदुर्व्यसनी


सिद्धराज भट्ट । धनगढी । ‘विगतमा आफूले भोगेको र अनुभव गरेको जस्तो नशाको मातमा लागेर अरुले दुःख नपाउन् भनेर दुर्व्यसनीको कुलत छुटाउन लागिरहेका छौँ ।’ आफू दुर्व्यसनमा फसेकामा पश्चाताप गर्दै कुलतमा फसेकाको पुनःस्थापनाका लागि अहिले टीकापुरमा सक्रिय रहेको लागुऔषधका पूर्वदुर्व्यसनी कल्पेस कुवँरले बताए ।
नशाको मातमा जीवन बर्बादीतिर धकेलिरहेका युवाको कुलत छुटाउन कुवँर अहिले नवजीवन पुनःस्थापना केन्द्रको सहजकर्ता र उनका सहकर्मी पूर्वदुर्व्यसनी रोशन कडायत केन्द्रको संयोजकको भूूमिकामा रहेर टीकापुरमा सक्रिय छन् । करिब १० वर्षसम्म कुलतमा फसेर केही वर्षअघि छुटकारा पाइएको स्मरण गराउँदै कुवँरले भने, ‘आफूहरूले भोगेको जस्तो समस्या कसैले पनि व्यहोर्नु नपरोस् भनेर यो काम थालेका हौँ ।’
केन्द्रको संयोजकको भूमिकामा रहेका पूर्वदुर्व्यसनी कडायतले गत तीन वर्षको अवधिमा झण्डै ३० जना दुर्व्यसनीको कुलत छुटाउन सफलता मिलेको दाबी गरे । उनीहरू दुवैको संयुक्त प्रयासमा तीन वर्षअघि सञ्चालनमा आएको नवजीवन पुनःस्थापना केन्द्रमार्फत हाल १८ जना दुर्व्यसनीको कुलत छुटाउने प्रयास भइरहेको छ । पुनःस्थापना केन्द्रको सञ्चालन खर्च भने सम्बन्धित दुर्व्यसनीका अभिभावकबाट उठाउने गरिएको छ । तीन महिना पुनःस्थापना केन्द्रमा बसेपछि दुर्व्यसनीको नशा छोड्ने वातावरण बन्ने गरेको कुवँरले दाबी गरे ।
टीकापुरमै रहेको नयाँ बिहानी पुनःस्थापना केन्द्रको पहलमा उहाँहरू दुवै जना दुव्र्यसनबाट केही वर्षअघि मुक्त भएका थिए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले लागुऔषधका प्रयोगकर्ताको नशा छुटाउन पुनःस्थापना केन्द्रले गरिरहेको प्रयासको सराहना गरे । ‘दुर्व्यसनीको कुलत छुटाउन पुनःस्थापना केन्द्रमा राति १० बजेसम्म पनि कक्षा सञ्चालन भएको देखियो,’ चन्दले भने, ‘यसको ओसारपसार, प्रयोग र रोकथाममा अन्य कामका अतिरिक्त टीकापुर प्रहरीले बेलाबखत विद्यालय र समुदायमा चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ ।’
कैलाली जिल्ला र खासगरी पूर्वी क्षेत्रको टीकापुर र आसपासका क्षेत्रमा लागुऔषधको ओसारपसार र प्रयोगका घटना बढ्दै जाँदा चुनौती बढेको छ । अभिभावकले आफ्ना छोराछोरीको उचित रेखदेख नपुर्याउने गरेकै कारण साथीको लहैलहै र देखासिकीमा लागेर कैयौँ युवा नशामा रमाउने गरेकाले जिल्लामा लागुऔषधको समस्या चुनौती बनेको हो । अभिभावकबाट उचित रेखदेख नपुगेको र घरायसी वातावरण पनि राम्रो नपाएकोजस्ता कारणले विद्यालय र क्याम्पस जाने १६ देखि ३० वर्ष उमेरका कतिपय युवा यस्तो कुलतमा बढी फस्ने गरेको बताइन्छ ।
खुला सिमानाका कारण सजिलैसँग सीमापारी भारतीय बजार पुगेर लागुऔषधका दुर्व्यसनीले लागुऔषधको ओसारपसार र सेवन गर्ने गरेका छन् । गएको साउनदेखि हालसम्म लागुऔषधको कारोबार र प्रयोगमा संलग्न ३० जनामाथि कानूनी कारबाही गरिएको इप्रका टीकापुरको तथ्यांकले पनि सो क्षेत्रमा कुलतमा फस्ने बढेको पुष्टि हुन्छ । प्रहरी निरीक्षक चन्दले लागुऔषधको सेवन र ओसारपसारको समस्या पहिलेदेखि नै रहेको भए पनि पछिल्लो केही महिना यसका कारोबारी र सेवनकर्ता पक्राउ गर्न प्रहरीलाई सफलता मिल्दै गएकाले यसका घटना बढेको देखिएको बताए । खासगरी खैरो हिरोइन, ट्याबलेट नाइट्रोभेट, नाइट्रोजिपामजस्ता लागुऔषधको बढी प्रयोग हुने गरेको बताइएको छ ।
कुलतमा लाग्नेले लुकिछिपीरुपमा लागुऔषधको प्रयोग र सेवन गर्ने गरेको र यसरी एकआपसमा लागुऔषध सेवन वा ओसारपसार गर्दा लागुऔषधको छुट्टै सांकेतिक नाम दिने गरेको बताइन्छ । टीकापुर इप्रकाले गएको साउनदेखि हालसम्म खैरो हिरोइनसम्बन्धी छवटा अपराधमा १६ जना र अन्य लागुऔषधका आठ वटा अपराधमा १४ जनामाथि कारबाही थालेको जनाएको छ । लागुऔषध चरेश, खैरो हिरोइन र नाइट्रोभेट ट्याबलेटको सेवन, ओसारपसार र सेवन बढी हुने गरेको पाइएको मुद्दा फाँटका प्रमुख प्रहरी सहायक निरीक्षक गोपालनाथ योगीले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०५:१५