सूचनाको शक्ति - The Power Of Information

        

रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर । १ नम्बर प्रदेशको पर्यटकीयस्थल बनाउन उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन स्कूल स्थापना गरेको छ ।

नौ लाख लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवन निर्माण कार्य शुरु गरेको नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए । चौदण्डी रानीटार मैनामैनीको उच्च भूभागबाट सप्तकोशी किनार क्षेत्रमा प्याराग्लाइडिङ उडान गरेर पर्यटकीय विकास गर्न सकिने कारण यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र तथा स्कूल स्थापना गरिएको बेलका नगरपालिकाले बताएको छ ।

आगामी २०७५ को जेठ महिनाबाट नै यस क्षेत्रमा प्याराग्लाइडिङ प्रशिक्षण सञ्चालन गर्न लागिएको हो । पोखरा र राष्ट्रिय खेलकुद परिषदबाट प्रशिक्षक ल्याउने जानकारी नगरपालिकाका प्रतिनिधिले दिए । बेलकाको मैनामैनीको बोप्ताङडाँडा, चम्पाकोट डाँडा, अप्टाङ र सुघाचरी भिरबाट प्याराग्लाइडिङ उडाएर सप्तकोशीको डुम्रिबोट, चतरा तथा सोमबारे क्षेत्रसम्म उडान गरेर पर्यटन विकास गर्न सकिने भएपछि सञ्चालन अभियान शुरु गरेको हो ।
भारतबाट ल्याउन लागिएको सानो पानीजहाज पहिलो पटक चौदण्डीको रानीटारदेखि सप्तकोशीको चतरासम्म र माङकुटारदेखि चतरा हुँदै तपेश्वरी क्षेत्रसम्म जहाज सञ्चालन गरिन लागेको पनि नगरप्रमुख थापाले बताउनुभयो ।

प्याराग्लाइडिङ सञ्चालनका लागि यसअघि नै दुई पटक परीक्षण उडान भइसकेको छ । भने जहाज पनि एक पटक सञ्चालन गरेर परीक्षण गरिसकिएको बेलका नगरपालिकाले बताएको छ । वार्षिक ५० हजारसम्म पर्यटक भित्र्याउने लक्ष्य राखेको छ भने जहाज सञ्चालनबाट वार्षिक पाँच लाखभन्दा बढी पर्यटक बेलका क्षेत्रमा भित्र्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०३:२५