सूचनाको शक्ति - The Power Of Information

        

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आजबाट फेरि आयात निर्यात कार्य शुरु

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बिहीबारदेखि बन्द भएपछि आयात निर्यात ठप्प भएको थियो । आजबाट फेरि आयात निर्यात कार्य शुरु हुने भएको छ । नेपाल चेम्वर अफ कमर्सको उच्चस्तरीय प्रतिनिधिमण्डलले हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग भेटवार्ता गरी प्रबन्ध शुल्क तिरेर आयात निर्यात गर्न आफूहरु तयार रहेको बताएपछि आयत निर्यात शुरु हुने भएको हो । व्यावसायीले कानुन बमोजिम प्रबन्ध शुल्क तिर्ने र सहज रुपमा आयात निर्यात गर्ने बताएका हुन् । यसअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित हवाई कार्गोको प्रबन्ध शुल्क वृद्धि गरिएकोमा व्यवसायीले विरोध गर्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले चैत १ गतेदेखि लागू हुने गरी प्रबन्ध शुल्क वृद्धि गरेको थियो । शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई गम्भीर असर पर्ने व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०३:०९