सूचनाको शक्ति - The Power Of Information

        

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन

अध्यक्षबाट भीम रावल पछि नहट्ने, नेम्वाङले वरिष्ठ उपाध्यक्ष नछोड्ने

चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेताहरु लागिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । उपाध्यक्ष भीम रावलले औपचारिक रुपमा अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् ।

उपाध्यक्ष रावल आफ्नो अडानबाट पछि हटेका छैनन् । उनी कुनै हालतमा अध्यक्षभन्दा तल नझर्ने मनस्थितिमा छन् । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप्ने गरी विधान संशोधन गरेको पनि उपाध्यक्ष रावललाई चित्त बुझेको छैन ।

उनले केन्द्रीय कमिटीमा अचानक विधान संशोधनको प्रस्ताव आएको भन्दै यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । ‘म अध्यक्षमा उम्मेदवारी दिन्छु, हिजोको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनको प्रस्तावबारे मलाई जानकारी छैन,’ बन्दसत्र स्थल चितवनको सौराहा रहेका उनले भने ।

उनले ‘अचानक विधान संशोधनको प्रस्ताव आएपछि आफुले केही बोल्न नचाहेको बताए । उनले भने, ‘म बोल्न आवश्यक पनि थिएन ।’ सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने भने पनि उनी तयार नभएको स्रोतले बताएको छ ।

तर अरु केही नेताहरु रावललाई वरिष्ठ उपाध्यक्ष दिएर भए पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेका छन् । ‘अहिले पनि हामी बैठकमै छौं, छलफल गरिरहेका छौं,’ नेता योगेश भट्टराईले भने, ‘कसरी हुन्छ हामी सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छौं ।’ तर रावलले यस विषयमा अध्यक्ष ओलीसँग अहिलेसम्म कुनै छलफल नभएको बताए ।

वरिष्ठ उपाध्यक्ष रावललाई दिन ओली सकारात्मक भए पनि सुवास नेम्वाङ अडानबाट पछि हटेका छैनन् । उनी आफूले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने बताउँदै आएका छन् । उनलाई अन्यत्र व्यवस्थापन गरी रावललाई वरिष्ठ उपाध्यक्ष दिएर भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १७:५०