शूरबहादुर सिंह । सुर्खेत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै थिइन् । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उनलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उनकोमा ।
एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरुलाई हिजो बेलुका बचेखुचेको सेतो भातसँग सेतो नून मिसाएर चित्त बुझाउन हम्मे हम्मे थियो उनलाई । चार वर्षअघि कुनै गैरसरकारी संस्थाले दिएको उनको त्रिपालको अवस्था जीर्ण अवस्थामा पुगेको छ । उनीलगायत पीडित एकल महिला तथा बाढीपीडितको जीवन त्रिपालको बासमा कष्टकर रुपमा व्यतित भइरहेको छ ।
सुर्खेत पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका–१० (साबिकको तातोपानी–६ गल्फगाउँ)मा ३० वर्षीया पुष्पा नेपाली जस्तै आधा दर्जन एकल महिला र पाँच दर्जनभन्दा बढी बाढीपीडित परिवार बस्दै आएका छन् । विसं २०७१ साउन २९ गते राति २ बजे भेरी नदीमा आएको बाढीले उनीहरुलाई घरबारविहीन बनाएको थियो । बाढीबाट २९ जनाको मानवीय क्षति समेत भयो । त्यस्तै, अर्बको धनमाल र करोडौँको पशुवस्तुमा पनि क्षति पुग्यो ।
बाढीबाट पीडित र अर्धपीडित गरेर ६०० घरपरिवार विस्थापित भए । उक्त विपत्तिबाट ११ जना विद्यार्थीको पनि ज्यान गएको थियो । बाढीको पीडा भुल्न नपाउँदै २०७२ सालमा पुष्पाका श्रीमान् मन नेपाली कुलोमा काम गर्दै गर्दा माटोको ढिस्कोले च्यापिएर बिते । घरबारविहीन बनेको पुष्पाको परिवारबाट दैवले श्रीमान्लाई खोसेर लगेपछि त्यस दिनदेखि उनको जीवनमा दुःखको बाढी शुरु भयो । त्यही सन्दर्भलाई जोडेर उनले दुःख पोख्दै एउटा विरहको गीत भनिन्,
बसौँ भने घरबार छैन साथमा लोग्ने नाई,
टुहुरा बालबच्चा रुन्छन् खान लाउन नपाई ।
पुष्पाको साथमा अहिले सात जना बालबच्चा छन् । बालबच्चलाई शिक्षादीक्षा दिलाउनु उनका लागि धेरै परको कुरा हो, तिनीहरुलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्दछ, उनलाई । आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उनको दिनचर्या बनेको छ, आजभोलि । ‘बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो । जीवनमा आँसु र पीडाबाहेक केही छैन,’ भावविह्वल भएर उनले भनिन् ।
उनी भन्छिन्, ‘सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन् । मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ । लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु । त्रिपालको ओत लिएर जमीनको बास हुँदा कतै सुतेको बेला बच्चाबच्चालाई सर्पले टोक्ने वा रूख ढलेर मरिने पो हो कि भन्ने डरले सताउने गरेको उनले बताइन् ।
पुष्पा जस्तै ३२ वर्षीय गंगा विकको समस्या पनि फरक छैन । पाँच बच्चाकी आमा गंगाको पति कृष्ण विकको काम सिलसिलामा मृत्यु भयो । आफू बालबच्चाका लागि बाँच्नु परेको प्रतिक्रिया उनले दिइन् । ‘हामी गरीवमाथि नै कालको आँखा लाग्दोरहेछ । यस्ता विपतमा परेकामाथि भने सरकार समेतको नजर पुग्दो रहेनछ,’ उनले भनिन् । उनले पनि गीतबाटै दुःख पोखिन्,
घरबार बाढीले लैगो श्रीमान् दैवले,
यस्तालाई नदेख्दो रैछ, राज्य सरकारले ।
बाढीपीडित ३० वर्षीय तुल्सी विकको जीवनकथा झनै कहालिलाग्दो छ । घरबारविहीन भइसकेपछि उनका पति प्रताप विकको उच्च रक्तचापको बिरामीले मृत्यु भयो । पति वियोग छँदै थियो, कामका क्रममा खुट्टा भाँचिदा उनी सधैँका लागि अपांग हुनुप¥यो । घरबारविहीन बनेका उनले सहाराविहीन हुँदा जीवनका सारा खुशी सकिएको पीडा व्यक्त गरिन् । दैवप्रति गुनासो गर्दै उनले भनिन्,
बाढीले बगर पार्यो घरबार सबै बगाई,
रातदिनै रोएर बाँच्नु दैव ऋण के लगाई ?
‘च्यातिएको त्रिपालमा बास छ, तीन बालबच्चा छन्, काम गर्ने कोही छैन, दैवले खुशी लुटेको जिन्दगीमा प्राणबाहेक अरू केही छैन,’ उनले भनिन् । त्यति मात्र होइन, पीडा हुँदा आँखाबाट खस्ने आँसु पनि सकिएको रहेछ, उनको । उनी बेलाबेलामा भक्कानिँदै भन्छिन्, ‘को होला हाम्रो पीडा बुझ्ने ? पीडा सुनाउने ठाउँ कहाँ होला ? कहिलेसम्म पीडैपीडाको जीवन बिताउने होला ?’ उनले बालबच्चाले गर्दा मर्न नसकिएको आशय व्यक्त गरिन् ।
‘म रहिन भने यी नानीहरु कहाँ जालान् के खालान् भन्ने लाग्छ, यिनैका लागि भए पनि बाँच्ने प्रयत्न गरिरहेकी छु,’ उनले भनिन् । बाढीपीडित पुष्पा, गंगा र तुल्सी मात्र प्रतिनिधि पात्र हुन् । बाढीका कारण पञ्चपुरी नगरपालिका सुर्खेतका विभिन्न वनजंगल र खोँचमा विस्थापित जीवन जिउन बाध्य नागरिकलाई राज्य सरकार छ जस्तो लागेको छैन । चार वर्षसम्म विस्थापित बाढीपीडितको समस्या कुनै सरकारले नबुझेको उनीहरुको गुनासो छ ।
प्राकृतिक विपत्तिले घरबारविहीन बनाएको घटना घाम जस्तै छर्लङ्ग हुँदा पनि सरकार बेखबर रहेको पञ्चपुरी नगरपालिकास्थित जनसृजना माविका प्रधानाध्यापक हरि ढकालको आरोप छ । ढकालका अनुसार सरकारले बाढीपीडितलाई यो देशको नागरिक हुँ भन्ने प्रत्याभूति दिलाउन केन्द्र, प्रदेशभन्दा पनि स्थानीय सरकारले पहिलो कदम चाल्नु पर्दछ । यता, प्रदेश सरकारको आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले यही फागुन २६ गते बाढीपीडित बस्तीको वास्तविकता बुझेर फर्केको छ ।
उनीहरुको समस्या समाधानका लागि प्रदेश सरकारले प्याकेजको कार्यक्रम बनाउनाका साथै केन्द्र र स्थानीय सरकारको पुलको काम गर्ने मन्त्री भण्डारीले बताए । बाढीपीडितको पुनर्वासको व्यवस्था कतैबाट नहुँदा तीन वर्षदेखि उनीहरुको असुरक्षित त्रिपालको बास कायमै रहेको छ । जहाँका नागरिकले नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकको कुनै प्रत्याभूति गर्न पाएका छैनन् । रासस
।