सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वामदेव गौतमले भने, ‘केपी रहुन्जेल एमाले जान्न, नयाँ पार्टी गठन गर्छु’

काठमाडौं । शुक्रबारबाट चितवनमा नेकपा (एमाले)को १०औं महाधिवेशन सुरु हुँदैछ । सबै नेता कुनै न कुनै पदका लागि प्रयत्न गरिरहेका छन् । तर, राजीनामा स्वीकृत नभएका उपाध्यक्ष वामदेव गौतम भने नयाँ दल गठनमा जुटेका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनालले नयाँ पार्टी गठन गर्दा जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाए सो पार्टीमा आवद्ध हुने भन्दै आएका गौतम अन्तमा एकीकृत समाजवादीमा पनि अटाएनन् ।

केपी शर्मा ओली एमालेमा रहुन्जेल एमाले नर्फकने बताइसकेका गौतम अन्तत नयाँ पार्टी गठनमा जुटेका हुन् । ओली नेतृत्वमा रहुन्जेल आफू एमालेमा फर्कन सम्भव नभएको नेता गौतमले बताए ।

‘नेकपा एकीकृत समाजवादीले जबजलाई पार्टीको मार्गदर्शन सिद्धान्त बनाएन, त्यसैले यी दुवै पार्टीमा रहन सकिएन । आगामी दिनमा आफ्नै नेतृत्वमा छुटै पार्टी गठन गरेर अगाडि बढ्ने सोचमा छु,’ नेता गौतमले भने ।

‘माधव कमरेडससँग मेरो कुराकानी भएको थियो । उहाँले जबजलाई पार्टीको मार्गदर्शन सिद्धान्त राख्ने हो भने म सोही पार्टीमा केन्द्रीय सदस्य भएर पनि काम गर्छु । पदका लागि वार्गेनिङ गर्दिन, उहाँहरुले त कम्तीमा केन्द्रीय सदस्य दिनुहुन्छ होला,’ गौतमले भने ।

तर केपी ओली रहुन्जेल आफू नेकपा एमालेमा फर्किने सम्भावना अब नरहेको पनि उनले स्पष्ट पारेका छन् । नेता गौतमले भने, ‘केही नभए बरु आफ्नै नेतृत्वमा छुटै दल गठन गरेर अगाडि बढछु ।’

६० वर्षभन्दा बढी समय राजनीतिमा सक्रिय रहेको बताउँदै गौतमले ४२ बर्षसँगै काम गरेर आफूले नै केपी ओलीलाई बोकेर पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाएको बताए । तर उनै ओलीको कार्यशैली ठिक नभएकोमा आफ्नो आपीत्त रहँदै आएको उनले बताए ।

सरकारमा हुँदा पार्टीको घोषणा पत्र अनुसार ओलीले काम नगरेको आरोप लगाउँदै नेता गौतमले पार्टी विधान र निर्णय पनि ओलीले कहिल्यै कार्यान्वयन गर्ने इच्छा नराखेको आरोप लगाएका छन् ।

तत्कालीन नेकपा विभाज हुँदा कम्युनिष्ट पार्टी बीचको एकता जोगाउँन सक्रिय गौतम अहिले दलविहीन भएका छन् । वर्षौसम्म एमालेमा रहेका गौतमबिना एमालेको १०औं महाधिवेशन सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:२८