सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बारको १४ औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा

बाँके । नेपाल बार एसोसियशनको १४ औं राष्ट्रिय सम्मेलन नेपालगन्जमा हुने भएको छ । कानून व्यवसायीको पेशागत दक्षता एवं सुनिश्चितता भन्ने मुल नाराका साथ यही चैत्र ९, १० र ११ गते राष्ट्रिय सम्मेलन नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा हुने भएको हो ।
आफ्नो स्थापना कालदेखि नै कानुनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिका र व्यवसायीक प्रतिवद्धताका लागि कार्य गर्दै आएको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको जानकारी गराउँदै नेपाल बारका केन्द्रिय उपाध्यक्ष शालिकराम सापकोटाले सम्मेलनको तयारी लगभग लगभग पुरा भैसकेको जानकारी गराए ।
सम्मेलनको उदघाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गर्नुहुने कार्यक्रम रहेको उनले जानकारी गराए । उद्घाटनमा कायममूकायम प्रधानन्यायधिश दिपकराज जोशी, कानूनमन्त्री शेरबहादुर तामाङ, महान्यायधिवक्ता अग्नीप्रसाद खरेल लगायत विदेशी बार एसोसियशनका प्रतिनिधिहरु, विदेशी राजदुतावास लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिवक्ताहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा केन्द्रिय उपाध्यक्ष सापकोटाले बताए ।
सम्मेलनमा नेपालको स्वतन्त्र, सक्षम र जवाफदेही न्यायपालिका कसरी बनाउने भन्ने विषयमा गहन छलफल हुने उपाध्यक्ष सापकोटाले बताए । कानून व्यवसायलाई आत्म निर्भर, व्यवसायीक, दक्ष र मर्यादित एवं विश्वासनिय बनाउने, स्वतन्त्र न्यापालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रामणबाट न्यायपालिकालाई कसरी जोगाउने, संघीयता, गणतन्त्र कार्यान्वयनका लागि जनप्रतिनिधिमूलक संस्थाहरुलाई कानून अनुशिक्षण लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कानूनको मस्यौदा गर्ने, वर्तमान अवस्थामा के कस्ता कानून बनाउँदा राष्ट्रलाई सहि दिशामा अघि बढाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने अधिवक्ता प्रल्हादबहादुर कार्कीले बताए । सम्मेलनलाई सफल पार्न नेपाल बारका केन्द्रिय उपाध्यक्ष शालिकराम सापकोटाको संयोजत्वमा ३०२ जनाको कानुन व्यवसायीहरु रहेको सम्मेलन मुल व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
जसमा भोजन तथा खाद्य व्यवस्थापनको संयोजकमा अधिवक्ता प्रल्हादबहादुर कार्की, आर्थिक संकलन संयोजकमा भोलासिंह हमाल, प्रचारप्रसार संयोजकमा बसन्त गौतम, मञ्च व्यवस्थापनमा लोकबहादुर शाह, अतिथि स्वागत सत्कारमा सुनिलकुमार श्रेष्ठ, यातायात व्यवस्थापनमा धुव्र बस्याल लगायत विभिन्न उपसमिति संयोजक गठन गरिएको छ । सम्मेलनमा देशभरिका ४ हजार अधिवक्ताहरुको सहभागिता रहने छ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतवार ११:१६