सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जमा चक्रपथ, ‘सात वर्षदेखि अलपत्र’

बाँके । करीब सात वर्षअघि ‘सर्भे’ गरिएको नेपालगन्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ ।

चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु दुई करोड २० लाख शुरुमै विनियोजन गरेको थियो ।

रु एक करोड नौ लाख २७ हजार ४०० मा ठेक्का भएर ८२३ मिटर चौलिका चोक नजिक कालोपत्र भएको छ, जसमा निर्माण व्यवसायीले रु एक करोड तीन लाख ८३ हजार भुक्तानीसमेत लिइसकेको छ । सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याउँदै आएको थियो ।

गत आर्थिक वर्षमा मात्रै रु सात करोड ४५ लाख बजेट चक्रपथ निर्माण गर्न विनियोजन गरिएको थियो । तर, चक्रपथको काम नहुँदा रकमान्तर गरी पुल निर्माणमा खर्च गरिएको छ । गत आर्थिक वर्षमा रु सात करोड ३५ लाख विनियोजन भएको थियो । तर चक्रपथ निर्माण योजना नै बन्द हुने देखिएपछि रकमान्तर गर्नुपरेको थियो ।

‘सरकारले चक्रपथ निर्माणका लागि ठूलोस्तरमा बजेट विनियोजन गरेको छैन,’ सानो स्तरको बजेटले काम गर्ने स्थिति नभएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्सेर राणाले बताए । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अन्यत्र क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआब्जा दिन सक्ने स्थिति नभएपछि चक्रपथ योजना करीब अन्त्य भएको प्रमुख डा.राणाले बताए ।

चक्रपथ सिक्टा आयोजनाको नहरलाई आधार बनाएर सर्भे गरिएको थियो । तर, सिक्टाको नहर निर्माण सम्पन्न नभएकाले चक्रपथ निर्माणले गति लिन सकेन । ‘जनप्रतिनिधिका हैसियतले मैले समन्वयकारी भूमिका खेल्न स्थलमै गएर अध्ययन गरँे,’ प्रमुख डा राणाले भने, ‘पहिलो बाधक सिक्टा देखिएको छ ।’ चक्रपथ सिक्टा नहरको लाइनमा करीब ९० प्रतिशत क्षेत्रमा पर्छ ।

सिक्टाको पश्चिमतर्फको नहर निर्माण कार्य रोकिँदा त्यसको असर चक्रपथ निर्माणमा पनि परेको उनले बताए । यता, सडक डिभिजन कार्यालय बाँकेले नेपालगन्ज चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको स्पष्ट पारेको छ । सिक्टाले बाटो दिन नमानेको र जग्गा अधिग्रहण गर्न मुआब्जा रकम नहुँदा चार वर्षअघि शुरु भएको चक्रपथ निर्माण बन्द हुने अवस्थामा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार ०८:१६