हुम्ला । हिमालपारिको गाउँ लिमीमा एक हजार ५०० भन्दा बढी चौँरीसहित अन्य पशु उच्च जोखिममा परेका छन् । घाँस काट्ने बेला हिमपात हुँदा किसानले घाँस काट्न नपाएपछि पशु पाल्न कठिन हुने भएको हो ।
नाम्खा गाउँपालिका–६, लिमीको हल्जी गाउँका फुन्जोक लामाले किसानले यस वर्ष घाँस काट्न नपाएपछि पशु पाल्न कठिन भएको बताए । उनले लिमीका तीनै गाउँमा मानिस त जेनतेन गुजारा चलाउन सक्ने बताउँदै पशुबस्तुलाई काटेर राख्ने घाँस हिमपातले गर्दा काट्न नपाएपछि पाल्नै कठिन हुने देखिएको उल्लेख गरे ।
उनका मात्र आठवटा चौँरीसहित ३५ पशु छन् । उनले घाँस काट्ने समयमा यस वर्ष चाँडै हिमपात भएपछि कुनै पनि किसानले घाँस काट्न नपाएको बताए । अहिले घाँसजति सबै हिउँले छोपेको र बरफ जम्न सुरु भएका कारण चराउनसमेत कठिन भएको छ । घरका छतछतमा काटेर राखिएको घाँस हिउँ परेपछि पशुलाई दिने गरिन्थ्यो ।
उनले यो वर्ष त्यसरी घाँस काटेर राख्न नपाएका कारण ठूलो समस्या निम्तिएको बताए । हल्जी गाउँका फुर्बा तामाङले बेमौसमको हिमपातले पशुपालन ठूलो सङ्कटमा परेको बताए । जमेको हिउँले घाँस छोपेका कारण खोले पकाएर दिनुको विकल्प नभएको बताउदै उनले अन्न पनि कम उत्पादन भएको कारण त्यसको व्यवस्था गर्न पनि किसानलाई समस्या आएको उल्लेख गरे ।
अहिले घाम लागेका बेला हिउँमा पशु पठाउने र बेलुका गोठमा ल्याएर हुल्ने काम भइरहेको छ । वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा १४७ घरधुरीका बासिन्दाले चाँैरीसहित अन्य पशु गरी एक हजार ५०० पाल्दै आएको जानकारी दिए । यसपालि लिमीको पशुपालन नै सङ्कटमा परेको बताए । पशुबस्तुलाई घाँसको अभाव हुने देखिएको छ ।
।