सूचनाको शक्ति - The Power Of Information

        

समाचार

भीर पहरामा झुण्डिएर आज छाङरु पुग्दै गणक, फर्किन हेलिकोप्टरको आश

काठमाडौं । कालापानी, नाभी, कुटी लगायतका क्षेत्रको समेत जनगणना गर्ने गरी खटाइएका गणक टोलीका सदस्यहरु आज छाङरु पुग्दैछन् । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु लगायतका गाउँ जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाका प्रतिनिधिसहित दुईजना गणकलाई शुक्रबार दार्चुला जिल्ला सदरमुकामबाट त्यसतर्फ पठाएको थियो ।

उक्त टोली शनिबार दुम्लिङमा बास बसेको र उनीहरुसँग हिजो बिहान ८ बजे थीं भन्ने स्थानको डाँडामा पुगेकाले टेलिफोन सम्पर्क भएको र उनीहरुले भोलिसम्म हाल नेपालको प्रशासनिक नियन्त्रणमा रहेको छाङरु पुग्ने जानकारी गराएका दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले बताए ।

नेपालतर्फको बाटो निकै असहज भएको र बाबियोको झयाङ समाउँदै भीर पहरामा हिँड्नु पर्ने भएकाले जनगणना सकेर फर्कन चिप्लो र ओरालोमा समस्या हुने हुँदा केलिकोप्टरको आश गरिएको उनले बताए । ‘जाँदा उकालो भएकाले गणहरु जसोतसो पुग्न सक्छन् तर फर्कदा धेरै थाकेका हुने हुँदा हेलिकोप्टर पठाए उनीहरुलाई सहज हुने थियो,’ पाण्डेले भने ।

उनले छाङरु पुगेपछि भोलि पुन फोन सम्पर्क हुने बताए । कात्तिक २५ गतेदेखि सुरू भएको राष्ट्रिय जनगणना २०७८ अब चार दिन मात्र बाँकी छ । निर्धारित समयमा ढिलाइ भएको र भारतले अनुमति दिन ढिलाइ गरेपछि नेपालकै बाटो हुँदै त्यसतर्फ टोली पठाएको दार्चुलाका प्रजिअ सिद्धराज जोशीले जानकारी दिए ।

दार्चुलाको व्यास गाउँपालिका–१ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना हुनेछ । देशभरको गणना गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तोकिएकै मितिमा गणना सक्ने गरी सहजीकरण गरेर काम अघि बढाएको तथ्याङ्क विभागका निर्देशक तथा तथ्याङ्क शाखा प्रमुख ढुण्डिराज लामिछानेले बताए ।

विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशभर ३९ हजार गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०९:१३