सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशनमा सात करोड ५० लाख खर्च हुने

काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।

चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ तथा १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका हुन्।

महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ। सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ।

थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ। महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन्।

‘यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ’, रिमालले भने।

उनका अनुसार गत आठौँ महाधिवेशनमा करिब रु दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा रु चार करोड २५ लाख खर्च भएको थियो। गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा ६ हजार ४३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु पाँच करोड खर्च भएको थियो।

यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताए।

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ।

एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ। एमालेमा पछिल्लोपटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ।

नेता रिमालले भने, ‘यसरी सदस्यबाट न्यूनतम रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौँ।

यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ। हामीले योपटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौँ, रसिद छापेका छैनौँ। यो प्रयोग हामीले नयाँ गरिरहेका छौँ।’

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १०:०६