सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौंं । आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ राखेको छ । नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेकाले निजी शौचालयको महत्व र सरसफाइको चेतना लगभग सबै क्षेत्रका सबै समुदायमा पुगिसकेको अनुमान छ ।

अहिले यस क्षेत्रमा कार्यरत संस्थाहरुले सार्वजनिक स्थलमा पर्याप्त शौचालय बनाउने र तिनको सरसफाइ राख्ने विषयलाई प्राथमिकतामा राखेका छन् । संयुक्त राष्ट्र संघले सन् २०१३ देखि औपचारिक रुपमा १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो ।

राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यस दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ । त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वर्ल्ड ट्वाई्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।

संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिसाब गर्ने उल्लेख छ । खुला स्थानमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:४०