सूचनाको शक्ति - The Power Of Information

        

नेपाली काँग्रेस १४ औं महाधिवेशन : नेपालगन्ज नगर सभापतिमा प्रशान्त विजयी

बाँके । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा प्रशान्त बिष्ट विजयी भएका छन् । उनी नगर सभापतिमा तेस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

उनले यस क्षेत्रकै चर्चित नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापालाई भारी मतले पराजित गरेका छन् । बिष्टले थापा मगरलाई १६७ मतान्तरले पराजित गरेका हुन् ।

नगर समितिका लागि भएको निर्वाचनमा विष्टले २४३ मत र थापा मगरले ७६ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए । बिष्ट प्यानलकै उपसभापतिमा धनराज बर्मा र मो.कमाल अन्सारी विजयी भएको मतदान अधिकृत गौतमले जानकारी दिए ।

मतदान अधिकृत गौतमका अनुसार बिष्ट प्यानलबाटै सचिवमा सुरेन्द्रकुमार श्रेष्ठ र हरिबाबु घिमिरे तथा सहसचिवमा मार्टिन वली क्षेत्री र शरदराज अधिकारी विजयी भएका छन् । उपप्रमुख थापा मगरले संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी हुन् ।

नेपालगन्जमा देउवा र पौडेल पक्षबाट छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी परेकोमा देउवा पक्षको प्यानल नै विजयी भएको मतदान अधिकृत गौतमले जानकारी दिए ।

बिष्टकै निकटतम प्रतिस्पर्धी संस्थापन पक्षकै विनोद रिजालले ४१ मत प्राप्त गरेका थिए । नेपालगन्ज उपमहानगरमा रहेका ३८२ मतमध्ये ३७७ मत खसेको थियो ।

उक्त निर्वाचनमा संस्थापन पक्ष (देउवा पक्ष)ले विष्टको प्यानललाई आधिकारिक रुपमा अगाडी बढाएको थियो भने संस्थापन पक्षकै रिजालले पनि आफ्नो प्यानल खडा गरेका थिए । संस्थापन इतर पक्षबाट थापाले आफ्नो प्यानल बनाएकी थिइन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:११