बाँके । बाँकेमा पछिल्लो समयमा रगतको चरम अभाव भएको छ । जिल्लाका विभिन्न अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढे पनि रक्त सञ्चार केन्द्रमा रगत नहुँदा बिरामीलाई समस्या परेको छ ।
मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा भेरी अस्पताल परिसरमा सञ्चालित रक्त सञ्चार केन्दले जनाएको छ ।
रगत अभावलाई मध्येनजर गर्दै रक्तदाताहरुलाई रगत अभाव भएको जानकारी गराइएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम राख्न पनि अनुरोध गरेको छ । चिसो मौसमको सुरुवातसँगै रगत अभाव हुन थालेको छ ।
रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले दैनिक ५० पिन्ट रगत आवश्यक पर्ने भए पनि रक्तदाता नहँुदा समस्या भएको बताए । उनका अनुसार रगतको अभावले अस्पतालमा गम्भीर अवस्थाका बिरामी र सुत्केरी महिलालाई समस्या हुने गरेको छ ।
दुई वर्षदेखि कोरोना महामारीका कारण र हाल दशैँ, तिहारपछि बाँकेमा नियमित रक्तदान गर्नेको सङ्ख्या घटेको र बिरामीको सङ्ख्या बढेका कारण अहिले केन्द्रमा रगतको चरम अभाव भएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
रक्त सञ्चार केन्द्रबाट सोमबार मात्रै ५८ पिन्ट रगत विभिन्न अस्पतालमा पठाइएकोले रगत सकिएको थियो । जिल्लामा रक्तदान गर्ने दाताभन्दा रगत लिनुपर्ने बिरामीको सङ्ख्या धेरै भएपछि रक्त सञ्चार केन्द्रमा रगत अभाव हुँदै आएको छ ।
रगत अभाव भएपछि नेपालगन्जमा मङ्गलबार आपतकालीन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यहाँस्थित रक्तसञ्चार केन्द्रको आह्वानमा लायन्स क्लब अफ नेपालगन्ज बजार र डोनर ग्रुप नेपालगन्जले आपत्कालीन रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
सो कार्यक्रममा विभिन्न क्षेत्रका ५५ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्रका प्रमुख रेग्मीले जानकारी दिए । उनले सो कार्यक्रममा पहिलो पटक रगत दान गर्नेदेखि ८८ पटक रक्तदान गर्नेसमेत सहभागी रहेका थिए ।
उक्त रक्तदान कार्यक्रमबाट प्राप्त रगतले एक/दुई दिनका लागि समस्या टरेको भए पनि रगत अभाव कायमै रहने केन्द्र प्रमूख रेग्मीले बताए । उनले विभिन्न सामाजिक सङ्घ, संस्था र व्यक्तिहरूलाईसामाजिक सञ्जालमार्फत पनि रक्तदानका लागि अनुरोध गर्दै आएको छ ।
ज्वरो र रुघाखोकीका बिरामीको चाप बढ्यो
चिसो बढ्दै गएपछि बाँकेका अस्पतालहरूमा दैनिक सयौँको सङ्ख्यामा मौसमी फ्लुका बिरामी उपचारका लागि पुग्न थालेका छन् । नगरका विभिन्न अस्पतालमा दैनिक ५० देखि १०० जनाभन्दा बढी रुघाखोकी, झाडापखाला, निमोनिया, दम, ज्वरो तथा ब्रोनकाइटिसको समस्या लिएर आउने बिरामी बढ्दै गएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।
गत एक सातायता यहाँ चिसो बढ्न थालेकोले अस्पतालमा मौसमी फ्लुको सङ्क्रमणबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढ्न थालेको नेपालगन्ज शिक्षण अस्पतालका निर्देशक डा.एक किदवाइले बताए । उनले युवा तथा वृद्धहरू रुघाखोकी, ज्वरो तथा दमबाट सङ्क्रमित भएर उपचारका लागि बढी आइरहेको जनाए ।
उनले बालबालिकामा ‘कोल्ड डायरिया’का समस्या भएका धेरै रहेको जनाए । चिसो सुरु भएसँगै भेरी अस्पतालमा पनि छाती दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या लिएर आउने बिरामीको सङ्ख्या दैनिक १०० जति नाघ्ने गरेको अस्पतालका सूचना अधिकारी डा.सङ्केतकुमार रिसालले बताए ।
उनका अनुसार अस्पतालमा आउने धेरै बिरामी घाँटी खसखसाउने, श्वास फेर्न गाह्रो हुने तथा अन्य छातीसम्बन्धी समस्या लिएर आउने रहेका छन् । यस्तो मौसममा कोरोनाको समेत जोखिम बढ्ने हुँदा विशेष गरेर बालबालिका तथा वृद्धवृद्धाको हेरचाह गर्नुपर्ने सुझाव चिकित्सकहरूको छ । अहिले अस्पताल आउने बिरामीमध्ये करिब ६० प्रतिशत मौसमी फ्लुका कारण बिरामी हुनेहरू रहेको पाइएको छ ।
नेपालगन्जका फिजिसियन डा.अल्तवान राहीका अनुसार चिसोबाट जोगिनका लागि घरबाहिर निस्किँदा आवश्यकताअनुसारको न्यानो लुगा लगाउनुका साथै मास्क लगाएर निस्कने, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्ने, छाती दुख्ने तथा श्वास फेर्न गाह्रो हुने समस्या बढ्दै गए, घ्यारघ्यार हुँदै गएमा सकेसम्म चाँडो चिकित्सककहाँ जानुपर्छ ।
।