सूचनाको शक्ति - The Power Of Information

        

अत्यधिक चिसोले जुम्लाको जनजीवन प्रभावित

फाइल तस्वीर

जुम्ला । जुम्लामा तापक्रम एक्कासि माइनस पाँच डिग्रीमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान विभाग कार्यालय जुम्लाले जनाएको छ । तापक्रम एकाएक माइनसतर्फ घटेपछि जुम्लामा चिसो अत्यधिक बढेको र जनजीवन पनि प्रभावित हुन थालेको हो ।

तापक्रम माइनस डिग्रीमा झरेपछि धारा तथा भाँडामा राखिएको पानी जम्न थालेको छ । बिहान धारामा पानी जमेर समस्या भएको स्थानीय सुलोचना हितानले बताइन् । चिसोबाट बच्न बजारमा बाक्लो कपडा खरिद गर्ने र न्यानोको व्यवस्थापन गर्न स्थानीय बासिन्दा जुटेका छन् । गाउँ तथा बजार क्षेत्रका विभिन्न चोकमा आगो बालिएको छ । तातोपानीले नुहाउने र कपडा धुन सुरु गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग कार्यालयका मौसम अवलोकनकर्ता जमुना हमालका अनुसार तापक्रम माइनसतर्फ घटिरहेको छ । बिहान बेलुकी तापक्रम घट्ने र दिउँसो केही माथि उक्लिने गरेको जानकारी उनले दिए । यसपटक कात्तिकको अन्तिमतिरबाट अत्यधिक चिसो बढेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । स्वास्थ्यकर्मीले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष हेरचाह गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०७:४१